फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्दै महत्वपूर्ण एक अंक हात पारेको छ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियास्थित रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। यो नतिजासँगै कतारले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेको छ। सन् २०२२ मा आयोजकका रूपमा पहिलोपटक विश्वकप खेलेको कतारले त्यसबेला कुनै अंक हासिल गर्न सकेको थिएन।
खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशतभन्दा बढी बल नियन्त्रणमा राख्दै कतारमाथि लगातार दबाब बनाएको थियो। स्विट्जरल्यान्डले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो भने कतारी गोलकिपर महमूद अबुनादाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।
स्विट्जरल्यान्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। डिबक्सभित्र कतारी गोलकिपर अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई ब्रेल एम्बोलोले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
त्यसपछि अधिकांश समय पछाडि परेको कतारले हार नमान्दै अन्तिमसम्म संघर्ष जारी राख्यो। खेलको इन्जुरी समयमा बोउलेम खोउखीले आकर्षक हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। उनको गोलसँगै कतार हारबाट जोगिन सफल भयो भने स्विट्जरल्यान्डले जितको अवसर गुमायो।
बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया