logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पले गरे दाबी

    742Shares
    इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पले गरे दाबी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौतालाई स्वीकृति दिएको दाबी गरेका छन्। यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन। ह्वाइट हाउसमा एक पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने कुरा स्वीकार गरेको छ र सम्झौता हुनासाथ होर्मुज स्ट्रेट पनि खोलिनेछ।’

    यसअघि ट्रम्पले शुक्रबार इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालको पोस्टमा अमेरिकाले इरानविरुद्धका नयाँ हवाई हमला र बमबारी रद्द गरेको बताएका छन्। उनले निर्णय परिवर्तन गर्नुको कारण इरानी नेतृत्वसँगको वार्ता सर्वोच्च स्तरमा पुग्नु रहेको बताए। यद्यपि, ट्रम्पले सम्झौता पूर्ण रूपमा तय नभएसम्म होर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी लागू रहने कुरा पनि स्पष्ट पारेका छन्।

    ट्रम्पले इरानले आणविक हतियार विकास नगर्ने मात्र होइन, बरु तिनीहरूलाई नकिन्न पनि सहमति जनाएको दाबी गरेका छन् । ट्रम्पका अनुसार, प्रारम्भिक सम्झौतामा आणविक हतियार विकास नगर्ने कुरा मात्र थियो। उनले भने, ‘मैले सोधेँ- किन्ने कुरा नि? उनीहरूले भने कि यो समावेश छैन। दुई दिनपछि उनीहरू यसमा पनि सहमत भए। हामी जे चाहन्थ्यौँ, त्यो सबै पायौँ।’

    राष्ट्रपति ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य हमला टार्ने निर्णय गरेपछि विश्वबजारमा तेलको मूल्यमा गिरावट जारी छ। शुक्रबार ब्रेन्ट क्रुड १.२१ डलर अर्थात् १.३ प्रतिशतले घटेर ८९.१७ डलर प्रति ब्यारेलमा पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई क्रुड १.२३ डलर अर्थात् १.४ प्रतिशतले घटेर ८६.४८ डलर प्रति ब्यारेलमा आइपुगेको छ। साप्ताहिक आधारमा पनि दुवै बेन्चमार्कमा गिरावट दर्ता गरिएको छ। ब्रेन्ट क्रुड ४.२ प्रतिशत र डब्लुटीआई ४.४ प्रतिशतले तल झरेको छ।

    (एजेन्सीहरूको सहयोगमा)



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट