काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताउनुभएको छ ।
बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागको नेतृत्वमा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छैन । फिनटेक मार्केटप्लेस सञ्चालन गर्ने कार्य राष्ट्र बैंकको नेतृत्वमा अगाडि बढ्ने हो ।
त्यस्तै सार्वभौम सम्पत्ति कोषका सम्बन्धमा बोल्दै गभर्नर पौडेलले हाल नेपालको विदेशी मुद्रा सञ्चिति उच्च रहेको तर त्यसबाट प्राप्त प्रतिफल अपेक्षाकृत कम रहेको बताउनुभयो । उहाँका अनुसार विदेशी मुद्रा सञ्चितिको प्रतिफल ४ प्रतिशतभन्दा कम रहेको अवस्थामा त्यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्ने सोच अघि सारिएको छ ।
सामान्यतः ६ देखि ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति पर्याप्त मानिन्छ तर अहिले नेपालसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने सञ्चिति छ । यसलाई छोटो अवधिका तरल उपकरणमा मात्र राख्दा प्रतिफल कम भइरहेको छ । त्यसैले केही हिस्सा सार्वभौम सम्पत्ति कोषमार्फत लगानी गर्ने अवधारणा ल्याइएको हो ।
उहाँले भन्नुभयो, “हाम्रो अहिले विदेशी मुद्राको सञ्चिति अलिकति धेरै भएको र यसको प्रतिफल ४ प्रतिशतभन्दा कम भएको अवस्था छ । जोखिम न्यूनीकरणका लागि त्यसको केही भाग लगानी गर्ने सोचिएको हो । सामान्यतः ६–७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा हामीलाई जति चाहिन्छ, त्यो बैंकले चलाउने एउटा लक्ष्य हुन्थ्यो । अहिले त हामीसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने विदेशी मुद्रा छ । त्यो सबै रकम अहिले हामीले अल्पकालीन तरल उपकरणमा राखेका छौँ, जसले गर्दा त्यसको प्रतिफल धेरै भइरहेको छैन । त्यसैले केही हिस्सा सार्वभौम सम्पत्ति कोषमार्फत लगानी गर्नका लागि सोचिएको हो ।”
गभर्नर पौडेलले सम्पत्ति व्यवस्थापन कम्पनीको संरचनाबारे अन्तिम निर्णय भइनसकेको जानकारी पनि दिनुभयो । यद्यपि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँको भनाइ थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया