काठमाडौं । अखिल (क्रान्तिकारी) को दुई विशेष प्रदेशको मतगणना पेरिसडाँडामा हुने भएको छ।
विवाद भएपछि चार दिनदेखि रोकिएको गणना पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ। त्यसका लागि वाल्मीकिमा थन्किएको मतपेटिका पेरिसडाँडा लगिएको अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले जानकारी दिए।
‘छलफलपछि निर्वाचन समितिको निर्णयअनुसार मतपेटिका पेरिसडाँडा लगिएको छ। त्यहीँ गणना हुन्छ,’ उनले भने।
पेरिसडाँडा लगिएपछि मतगणना आजैदेखि सुरू हुने सापकोटाले बताए। सदर र बदर मतको विवादमा निर्वाचन आयोगको निर्णय र निर्वाचन निर्देशिकामा उल्लेख भएअनुसार हुने पनि उनले बताए।
मतपेटिका वाल्मीकिबाट पेरिसडाँडा लगिएपछि सापकोटा बाहेकका तीन अध्यक्षका उम्मेदवारहरू हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले नोट अफ डिसेन्ट लेखेका बताइएको छ ।
‘नोट अफ डिसेन्टमा वाल्मीकि क्याम्पसमा मतदान भयो, त्यहीँ मतगणना हुनुपर्छ। निर्वाचन समितिले रातो रङको कलमले रेजा लगाउने व्यवस्था गरेको थियो। गणना हुँदा त्यसैलाई मान्यता दिने र अरू रङलाई बदर गर्नुपर्छ भन्ने उल्लेख छ,’अध्यक्षका उम्मेदवार उपदेश यादवले भने।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया