logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • राष्ट्रिय भेलामा कांग्रेस एकताको एकस्वर, ‘विशेष महाधिवेशनको औचित्य निर्वाचनपछि नै समाप्त भइसक्यो’

    829Shares
    राष्ट्रिय भेलामा कांग्रेस एकताको एकस्वर, ‘विशेष महाधिवेशनको औचित्य निर्वाचनपछि नै समाप्त भइसक्यो’

    काठमाडौं, साउन २९ — नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी विवादबीच शुक्रबार आयोजित राष्ट्रिय भेलामा सहभागी अधिकांश नेताको एउटै स्वर सुनियो– पार्टी एकता अपरिहार्य छ । तर एकताको आवश्यकता औँल्याउँदै गर्दा नेताहरूले विशेष महाधिवेशनको औचित्य भने निर्वाचन सम्पन्न भएसँगै समाप्त भइसकेको दाबी गरेका छन् ।

    सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै बसेको राष्ट्रिय भेलाले पार्टीभित्रको विवाद समाधान, संगठनलाई पुनः एकीकृत गर्ने र आगामी राजनीतिक चुनौती सामना गर्न कांग्रेसलाई बलियो बनाउने विषयलाई प्रमुखताका साथ उठाएको छ । भेलामा बोल्ने नेताहरूले एकताका बाटामा रहेका तगाराबारे फरक–फरक धारणा राखे पनि विभाजित कांग्रेसको पक्षमा भने कसैले पनि मत राखेनन् ।

    बरु अधिकांश नेताले विशेष महाधिवेशनबाट उत्पन्न विवादलाई अब लामो समय तन्काएर पार्टीलाई कमजोर बनाउन नहुने धारणा राखे । उनीहरूको तर्कमा विशेष महाधिवेशनको मुख्य राजनीतिक उद्देश्य निर्वाचनसँग जोडिएको भए पनि निर्वाचन सम्पन्न भइसकेपछि त्यसको औचित्य समाप्त भएको छ । अब त्यसैलाई आधार बनाएर पार्टीभित्र समानान्तर गतिविधि अघि बढाउनुको साटो नियमित महाधिवेशनमार्फत संगठनलाई एकताबद्ध गर्नुपर्ने उनीहरूको जोड छ ।

    भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पनि पार्टीभित्रको असहमतिलाई बृहत्तर एकतामा बदल्नुपर्ने बताए । लामो इतिहास बोकेको कांग्रेसभित्र विवाद बढ्दा पार्टी कमजोर बनेको उल्लेख गर्दै उनले व्यक्ति केन्द्रित नभई पार्टीलाई बलियो बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

    ‘पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय र कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ । व्यक्ति केन्द्रित हुनुहुन्न । पार्टीमा हामी सबै एकै परिवारका सदस्य हौँ,’ देउवाले भने, ‘पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु ।’

    सहमति, सहकार्य र मेलमिलापको लामो अनुभव कांग्रेससँग रहेको उल्लेख गर्दै देउवाले अहिले पनि त्यही बाटोबाट विवाद समाधान गर्नुपर्ने संकेत गरे । विशेष महाधिवेशनका नाममा पार्टीको विधि, विधान र पद्धति मिचिएको आफ्नो दाबी दोहोर्‍याउँदै उनले त्यससम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरवलोकनको अवस्थामा रहेकाले थप टिप्पणी नगर्ने बताए ।

    तर, अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

    देउवाको सम्बोधनअघि नै भेलामा सहभागी नेताहरूले पार्टी एकताको पक्षमा दबाब सिर्जना गरेका थिए । उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिय संकटको सामना गर्न कांग्रेसको सम्पूर्ण एकता आवश्यक रहेको बताए । उनले देउवाकै नेतृत्वमा पार्टीलाई पुनः एकढिक्का बनाउन सकिने विश्वास व्यक्त गरे ।

    विशेष महाधिवेशनमार्फत चयन भएका पदाधिकारीलाई समेत राष्ट्रिय भेलाको राजनीतिक दबाब र तागतले सच्याउने तथा पार्टीलाई एकताको बाटोमा फर्काउन सकिने खड्काको दाबी थियो ।

    नेता शेखर कोइरालाले भने पार्टी एकताको आगामी आधार सर्वोच्च अदालतको अन्तिम निर्णय बन्ने बताए । विगतका एकता प्रयास सफल हुन नसके पनि अदालतको अन्तिम निर्णयपछि कांग्रेसलाई एकताबद्ध गर्ने नयाँ आधार तयार हुने उनको विश्वास थियो ।

    ‘पार्टीबारे सर्वोच्चको निर्णय हामीले स्वीकार्‍यौँ । तर त्यसलाई हामीले पनि पुनरवलोकन गर्‍यौँ । हामीले निस्सा पाएका छौँ । अदालतको अन्तिम निर्णयपछि पार्टी एकताको आधार तय हुन्छ,’ कोइरालाले भने ।

    कोइरालाले पार्टीभित्र निरंकुशता स्वीकार्य नहुने स्पष्ट पार्दै कांग्रेस एकढिक्का भएपछि मात्रै अन्य राजनीतिक दल तथा शक्तिसँग सहकार्य गरेर राष्ट्रियताको पक्षमा बलियो भूमिका खेल्न सकिने बताए ।

    नेता विमलेन्द्र निधिले आगामी १५औँ महाधिवेशनलाई नै ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने प्रस्ताव अघि सारे । उनका अनुसार राष्ट्रिय भेलाको मूल उद्देश्य कांग्रेसलाई बलियो बनाउनु भएकाले अब महाधिवेशनलाई विभाजनको निरन्तरता नभई एकताको माध्यम बनाउनुपर्छ ।

    ‘नेपाली कांग्रेसमा बृहत् एकता हुनुपर्‍यो, बलियो हुनुपर्‍यो । राष्ट्रिय भेलाको उद्देश्य नै नेपाली कांग्रेसलाई बलियो पार्ने हो,’ निधिले भने, ‘यसका लागि १५औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ ।’

    विजयकुमार गच्छदारले भने पार्टीलाई अहिलेको ‘दलदल’बाट निकाल्ने जिम्मेवारी देउवाकै काँधमा रहेको भन्दै तत्काल एकताको पहल गर्न आग्रह गरे । प्रकाशशरण महतले समझदारी निर्माणका लागि बलियो समिति बनाएर अघि बढ्नुपर्ने बताए भने रमेश लेखकले देउवाको नेतृत्वमा एकताको पहल हुनुपर्ने धारणा राखे ।

    एनपी साउदले पनि सर्वोच्चको निर्णयपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्दै त्यसअघि नै आन्तरिक पहललाई निरन्तरता दिनुपर्ने बताए । गोमा भट्टराईलगायतका नेताहरूले पनि एकताको विकल्प नभएको धारणा राखे ।

    यसरी राष्ट्रिय भेलाको मूल सन्देश ‘विवाद होइन, अब एकता’ मा केन्द्रित देखिएको छ । विशेष महाधिवेशनको औचित्य र त्यसबाट उत्पन्न नेतृत्वसम्बन्धी विवादलाई लिएर नेताहरूबीच मतभेद रहे पनि त्यसको समाधान पार्टी विभाजन वा समानान्तर संरचना निर्माणबाट नभई नियमित प्रक्रियामार्फत खोजिनुपर्ने मत बलियो बनेको छ ।

    निर्वाचनपछि विशेष महाधिवेशनको राजनीतिक औचित्य समाप्त भइसकेको दाबी र १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने प्रस्तावले कांग्रेसभित्र अब विवादको केन्द्र ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्दा पनि ‘विभाजित अवस्थामा अघि बढ्ने कि एकताबद्ध भएर महाधिवेशनमा जाने’ भन्ने प्रश्नतर्फ सरेको संकेत गरेको छ ।

    देउवाको स्वदेश फिर्ती र राष्ट्रिय भेलामा देखिएको एकताको साझा आवाजले अब कांग्रेसभित्र नेतृत्वमाथि पार्टी मिलाउन थप दबाब सिर्जना गरेको छ । स्वयं देउवाले पनि सबैलाई एकताको पक्षमा दृढ हुन आह्वान गरेपछि आगामी दिनमा विवाद समाधानका लागि संस्थापन र इतर दुवै पक्षबीच संवाद र सहमतिको प्रयास अघि बढ्ने अपेक्षा गरिएको छ ।

    आजका तस्बीरहरु:

     

     

     

     

     

     



    फास्ट न्युज    
  • २०८३ श्रावण ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट