खोटाङ । नेपाल निजामती कर्मचारी युनियन खोटाङले सरकारको दलिय ट्रेड युनियन खारेजी तयारीको बिरोध गरेको छ। निजामती कर्मचारी युनियनको नवौ अधिवेशन उद्घघाटन गर्ने क्रममा दलीय ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने बहस चल्नुको कुनै तुक नरहेको उनिहरुको भनाइ छ । अधिवेशनको शुभकामना दिन आएका एमाले र माओवादी निकट संगठनका अध्यक्षहरुको पनि समान धारणा रहेको थियो। मुलुकको लोकतान्त्रिक आन्दोलनमा कर्मचारीहरुको अहम भूमिकाको मुल्यांकन गर्नुपर्ने अवस्थामा सरकारले उल्टै कर्मचारी हकहितको लागि लड्ने संगठन खारेजी गरेर लोकतन्त्रको धज्जी उडाउन खोजेको उनिहरुको आरोप छ।
कार्यक्रममा बिशिस्ट अतिथि एवं नेपाली कांग्रेस खोटाङका प्रवक्ता रोजन राईले लोकतन्त्रको लागि कर्मचारीहरुले हिजोको दिनमा खेलेको भूमिकाको प्रसंशा र स्मरण गर्दै आजको दिनमा कर्मचारी संगठनहरुको भूमिका बदल्नुपर्ने स्थिति आएको बताउनु भयो। उहाले भन्नुभयो ” हिजो लोकतन्त्रको लागि लड्यौ । आज समृद्धिको लागि लड्नुछ। त्यसैले हाम्रो भुमिका बदल्नुपर्ने छ।”

युनियनको नवौ अधिवेशनको शुभकामना दिने क्रममा प्रवक्ता राईले समृद्ध मुलुक निर्माण गर्न राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलको साझा धारणा र सहकार्यले मात्र सम्भव हुने भन्दै दलगत ट्रेड युनियनको खारेजीको सवालमा आफू र आफ्नो दल कर्मचारीको पक्षमा रहने बताउनु भयो। कार्यक्रममा नेपाल निजामती युनियनका केन्द्रीय सचिव शान्तराज राई, केन्द्रीय सदस्यहरु अनिल आचार्य, इरान राई प्रदेश सदस्य खेमराज आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज राई, प्रदेश क्षेत्रीय सभापति दिनेश घिमिरे, नगर सभापति प्रकाश श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रेखा राई राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष चित्र सुवेदी लगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सभापतित्व युनियनका जिल्ला अध्यक्ष प्रकाश घिमिरेले गर्नुभएको थियोे ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया