logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • श्रमदानबाट काठेपुल निर्माण, विपन्न परिवारका लागि घर बनाउने प्रतिबद्धता

    832Shares
    श्रमदानबाट काठेपुल निर्माण, विपन्न परिवारका लागि घर बनाउने प्रतिबद्धता

    खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा स्थानीयवासीले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन्। हिङमाङ बस्ती र कटुवाल बस्तीबीच पर्ने हब्दमा खोलामा वर्षायाममा आवतजावतमा समस्या हुँदै आएपछि बाम्राङवासी श्रमदाताले श्रमदानबाट काठेपुल निर्माण गरेका हुन्।

    काठेपुल निर्माण भएपछि स्थानीय बालबालिका, वृद्धवृद्धा तथा साना विद्यार्थीलाई आवतजावतमा ठूलो राहत मिलेको स्थानीयवासीले बताएका छन्। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था पुल निर्माणसँगै सहज भएको उनीहरूको भनाइ छ।

    श्रम संस्कृति पार्टी खोटाङका नेता विनोद राईका अनुसार स्थानीयको दैनिक जीवनसँग जोडिएको समस्यालाई सामूहिक श्रममार्फत समाधान गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो। उनले श्रम संस्कृतिलाई पार्टीका नेता–कार्यकर्तामा मात्र सीमित नराखी समाजका सबै वर्ग र समुदायलाई स्थानीय विकासका अभियानमा जोड्दै लैजाने बताए।

    “यो सामाजिक अभियान हो। समाजमा योगदान गर्न श्रम संस्कृति पार्टी र पार्टीका कार्यकर्ता मात्र होइन, समाजका सम्पूर्ण भद्रभलाद्मी तथा सचेत नागरिकको साथ र सहयोग आवश्यक हुन्छ,” राईले भने, “सबैलाई स्थानीय विकासका अभियानमा जोड्दै अघि बढाउने हाम्रो उद्देश्य हो।”

    राईका अनुसार श्रम संस्कृतिको अभियानअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सामातुङ निवासी घरबारविहीन मनि प्रसाद (कालुमान) राईका लागि समेत श्रमदानबाट घर निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।

    विपन्न तथा घरबारविहीन परिवारलाई सहयोग गर्ने तथा स्थानीयस्तरका अत्यावश्यक पूर्वाधार निर्माणमा सामूहिक श्रम परिचालन गर्ने अभियानलाई निरन्तरता दिइने उनले बताए।

    यसैबीच, श्रम संस्कृति पार्टीले खोटाङको केपिलासगढी गाउँपालिकामा समेत श्रमदानबाट झोलुङ्गे पुल निर्माण गर्ने जनाएको छ। त्यसका लागि धरानबाट श्रमदातासहितको टोली खोटाङ आउने पार्टीका जिल्ला अध्यक्ष गणेश नाछिरिङ राईले जानकारी दिए।

    स्थानीय आवश्यकता पहिचान गरी श्रमदानमार्फत पूर्वाधार निर्माण तथा विपन्न परिवारलाई सहयोग गर्ने अभियानलाई जिल्लाका विभिन्न स्थानमा विस्तार गर्दै लैजाने पार्टीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट