काठमाडौं । गत चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनको घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।
सो घट्नाले नेपालको संविधानको प्रस्तावनामा रहेको मानव अधिकार र भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा रहेको सम्पत्तिको हक एवम् मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुर्याएको समितिले निष्कर्ष निकालेको बताइएको छ ।
उक्त दिन तीनकुनेमा सार्वजनिक सम्पति (सरकारी गाडी) अन्य सम्पत्तिमा आगजनी तथा तोडफोड र विभिन्न व्यक्तिका निजी सम्पत्तिमा क्षति, विभिन्न पार्टी कार्यालय, सञ्चार माध्यम लगायतमा भएको आगजनी, तोडफोड जस्ता गतिविधि भएका थिए ।
समितिले मानव अधिकारको गम्भिर उल्लङ्गन भएको भन्दै घटनाप्रति समितिले दुःख व्यक्त गरेको छ भने उक्त घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका सौ घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
यसैगरी समितिले तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगम जस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा उक्त क्षेत्रमा सभा, विरोध, प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया