काठमाडौं । नागको पूजाअर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा छ ।
नागपञ्चमीका अवसरमा बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको मूलढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । त्यसपछि नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी विधिपूर्वक पूजा गरिन्छ ।
नागको पूजा गरेमा वर्षभरि घरमा सर्प, बिच्छी लगायत विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । नागलाई देवताको रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा सनातन संस्कृतिमा प्राचीन समयदेखि चलिआएको मानिन्छ ।
हिन्दू धर्मग्रन्थहरूमा नागसँग सम्बन्धित विभिन्न प्रसङ्ग उल्लेख छन् । भगवान् श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको कथा पुराणहरूमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा मानिने बुद्धको मूर्तिमा समेत शिरमाथि सर्पको आकृति देखाइन्छ । त्यस्तै, मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला रहेको धार्मिक मान्यता छ ।
धर्मशास्त्रमा पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्गसमेत उल्लेख गरिएको छ । नागको पूजा हुने घरमा लक्ष्मीको वास हुने विश्वास पनि नेपाली समाजमा प्रचलित छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने विषयमा विभिन्न धार्मिक कथा तथा किंवदन्तीहरू प्रचलित छन् । यस पर्वले नागप्रति श्रद्धा व्यक्त गर्नुका साथै प्रकृति र जीवजन्तुप्रति सम्मान गर्ने सांस्कृतिक सन्देशसमेत दिने विश्वास गरिन्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया