काठमाडौं, चैत १४ — प्रेस चौतारी नेपालले केपी शर्मा ओली र रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ।
संस्थाका अध्यक्ष गणेश पाण्डेद्वारा जारी प्रेस वक्तव्यमा २०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति तथा त्यसपछिका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ। वक्तव्यमा भदौ २४ गतेको प्रदर्शनलाई विध्वंशात्मक बनाउन घुसपैठ गराइएको, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमा आक्रमण, आगजनी, लुटपाट तथा सञ्चारकर्मीमाथि आक्रमणका घटनाहरू भएको उल्लेख गर्दै ती सबै विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताइएको छ।
प्रेस चौतारीले हाल देशभर सञ्चारकर्मीहरू धम्की र असुरक्षामा रहेको दाबी गर्दै यस्तो अवस्थालाई बेवास्ता गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तयार पारिएको आरोप लगाएको छ। उक्त प्रतिवेदनलाई पूर्वाग्रही भन्दै कानुनविद् र नागरिक समाजका सुझावलाई बेवास्ता गरी प्रतिशोधात्मक रूपमा कारबाही अघि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई निषेधकारी र प्रतिशोधपूर्ण ठहर गरिएको छ।
वक्तव्यमा प्रेस चौतारी नेपालले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै ओली र लेखकमाथिको कारबाहीलाई “वचकना खेल” को संज्ञा दिएको छ। साथै, राज्यशक्तिको दुरुपयोगले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिँदै विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।
प्रेस चौतारीले दुवै नेताको तत्काल रिहाइको माग गर्दै देशलाई मुठभेडको अवस्थातर्फ जान नदिन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। साथै, यस्ता कार्यविरुद्ध प्रेसजगत, नागरिक समाज, कानुनविद् तथा सर्वसाधारणलाई एकजुट हुन आह्वानसमेत गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया