नुवाकोटं । नेपाली कांग्रेसका सभापति गगन थापाले चटक र तमासा देखाएर परिवर्तन नआउने बरु, कांग्रेसलाई जिताएपछि नीतिगत सुधार गरेर मात्र देश बन्ने दाबी गरेका छन् ।
तर, आफ्नो पार्टीले बहुमत पाए जादुगरले झैँ परिवर्तनको आशा नराख्न मतदातालाई आग्रह गर्दै त्यसका लागि धेरै काम गर्नुपर्ने तर्क दिए ।
नुवाकोटको बिदुरमा आइतवार आयोजित पार्टीको चुनावी सभामा उनले विकासका निम्ति नीतिगत समस्या नै बाधक रहेकोले त्यसलाई परिमार्जन र कानुन संशोधन गरेर मात्रै विकासको कामलाई अगाडी बढाइने आश्वासन दिए ।
उनले सडकसहित विकास निर्माणको समस्या कानुनमा रहेको भन्दै त्यसलाई नसच्याएसम्म निर्माण व्यवसायीलाई थुनेर समाधान गर्न नसकिने उपाय उल्लेख गरे । ‘जसले कम मूल्य दाबी गर्छ, उसलाई ठेक्का दिने त्यो कानुन खारेज गर्ने हो र सबैभन्दा उपयुक्त प्रस्तावलाई स्विकृत गर्ने हो, थापाले भने ।
सभापति थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिने कुरामा पनि जोड दिए । चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै उनले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे ।
‘नुवाकोटबाट जगदीश्वर नरसिंह केसी र डा. प्रकाशशरण महतलाई जिताएर पठाउनुस् । हाम्रो पार्टीले बहुमत पाएमा जादुकै भरमा देश विकास गर्छु भन्न आएको छैन । म जादुगर होइन, म कुनै चटक गर्ने मान्छे होइन । यसरी परिवर्तन वा समस्याको हल पनि कसैले गर्न सक्दैन । त्यो नीतिगत सुधारबाट मात्रै सम्भव हुनेछ’, थापाले भने ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया