खोटाङ । खोटाङ जिल्लामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि जनस्वास्थ्यमा चिन्ता बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन महिनाभरमा मात्रै १२ जना डेङ्गु र १४ जना स्क्रबटाइफस संक्रमित फेला परेका छन्।
सङ्क्रमितमध्ये दुई-दुई जना बिरामीको अवस्था जटिल भएपछि काठमाडौँ रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार दुबै बिरामीको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ।
जिल्लाका १० वटै स्थानीय तहमा यी रोगको सङ्क्रमण फैलिएको देखिएको छ। डेङ्गु सङ्क्रमितमा महिला र पुरुष समान ९६–६ जना० छन् भने स्क्रबटाइफसमा ९ जना पुरुष र ५ जना महिला छन्।
जिल्ला अस्पतालका प्रमुख डा। रुपेश सङ्ग्रौलाका अनुसार केही संक्रमित उपचारपछि घर फर्किएका छन् भने केही अझै उपचाररत छन्। “हरेक वर्ष यो समयमा डेङ्गु र स्क्रबटाइफसका बिरामी आउने गर्छन्, तर अस्पतालमा जटिल केस उपचार गर्न आवश्यक उपकरण र पूर्वाधार अभाव छ,” उहाँले भन्नुभयो। “यी रोगले रगतमा प्लेटलेट घटाउने भएकाले खतरनाक हुन सक्छ। अहिले त अस्पतालमा दैनिक १५० देखि २०० बिरामी आउन थालेका छन्।”
सङ्क्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गर्ने निर्णय भएको छ। आज दिक्तेलमा स्वास्थ्य कार्यालयको संयोजनमा सम्पन्न सर्वपक्षीय भेलाले जिल्लाका सबै स्थानीय तह, कार्यालय र सार्वजनिक स्थानहरूमा लार्भा खोजी गरी नष्ट गर्ने कार्य सुरु गर्ने सहमति गरेको हो।
स्वास्थ्यकर्मीका अनुसार डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसको संक्रमणबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। डेङ्गु लागेपछि आँखाको पछाडि दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी र हड्डी दुख्ने, ग्रन्थी सुन्निने, छाला रातो हुने तथा डाबर आउने लक्षण देखिन्छन्।
चिकित्सकहरूका अनुसार डेङ्गुको विशेष उपचार छैन। रोग लागेको खण्डमा प्रशस्त पानी पिउन, आराम गर्न र ज्वरो आए सिटामोल प्रयोग गर्न सल्लाह दिइन्छ। यस्तै, स्क्रबटाइफस माइट ९सानो किरो० को टोकाइबाट सर्ने रोग हो जसले टाउको दुख्ने, ज्वरो आउने र शरीर दुख्नेजस्ता लक्षण देखाउँछ। यो रोगको उपचारमा ढिलाइ भएमा अवस्था गम्भीर हुन सक्ने स्वास्थ्यकर्मीहरू चेतावनी दिन्छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया