खोटाङ : खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा बाँस सम्मेलन हुने भएको छ । आगामी फागुन दोस्रो सातादेखि तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको हो । नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले फागुन–१५, १६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन गर्न लागेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरू सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्न नगरपालिकाले पहल थालेको हो ।
रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपालकै इतिहासमा पहिलो पटक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पहलमा ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहनेछ । यसका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक दिक्तेलमा आयोजना गर्न लागिएको राष्ट्रिय बाँस सम्मेलनका लागि तयारीस्वरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थासँग समन्वय भइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा बाँस सम्बन्धी अध्ययन गर्ने तथा व्यापार/व्यवसाय सञ्चालन गरिरहेका विभिन्न देशका नागरिकको समेत सहभागिता रहनेछ ।”
तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनमा हुने अनुमानित खर्च, कार्यपत्र प्रस्तुत, बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीका स्टल, व्यवस्थापन लगायतका विषयमा पुनः अर्को कार्यपालिकाको बैठक बसेर पारित गरेपछि जानकारी दिने नगर प्रमुख भट्टराईले बताउनुभयो । सात महिनाअघिदेखि तयारी गरिएको राष्ट्रिय बाँस सम्मेलन गर्ने सम्बन्धी नगर प्रमुख भट्टराईले प्रस्तुत गर्नुभएको प्रस्तावलाई मङ्सिर–१३ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको जनाइएको छ । राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाका वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समितिसमेत गठन गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको राष्ट्रिय बाँस सम्मेलनमार्फत बाँसको उपयोगिता तथा सम्भावनाका बारेमा नेपाल सरकारको ध्यान आकृष्ट गराउन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई एक÷एक थान बाँसका कुर्सी उपहार दिनेसमेत नगर कार्यपालिकाको बैठकले निर्णय गरेरको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । बाँसको क्षेत्रमा काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष के.पि. भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिहरूको भेलाले दिक्तेल बजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको थियो ।
बाँसको विकास, व्यवसायिकता तथा बाँस उद्योगहरूमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएपछि दिक्तेल बजारमा बाँस सम्मेलन गर्ने निर्णय गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । गत कातिक पहिलो साता नै आयोजना गर्ने भनिएको प्रथम राष्ट्रिय बाँस सम्मेलन सोही अवधिमा देशभर आएको भीषण वर्षा तथा बाढीपहिरोका कारण रोकिएकाले आगामी फागुन दोस्रो सात सम्पन्न गर्ने तयारी गरिएको छ ।
खोटाङको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्रवटा वडा भएको) दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवर्द्धन गर्दै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने नगरपालिकाले बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्री तथा उद्योगलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएपछि बाँसका सामग्री उत्पादन गर्ने उद्योगहरूसमेत वृद्धि हुँदै गएको छ ।
बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवं उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।
नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गर्नुभएको छ । अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गर्नुभएको आयातित फर्निचर हटाएर नगर प्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय कासिन्दा एवं उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गर्नुभएको हो । नेपालका प्राय सबै क्षेत्रमा ठाउँ विशेषअनुसार विभिन्न प्रजातिका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपानका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा बाँस उपयोग गरिँदै आइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया