काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ ।
सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको टिकटकले पनि यसै साता नेपालका सर्तहरू मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले पनि सक्रियता बढाएको हो ।
आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ । गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रूपमा समेत व्याख्या गरिरहेका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd