काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारणलाइनका दुई मल्टिसर्किट टावरको प्रगति विवरणबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा उनले राष्ट्रिय विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको प्रसारणलाइनको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनअन्तर्गत निर्माण गर्नुपर्ने १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण सम्पन्न भइसकेका छन् । बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
उनले बाँकी दुई टावर १० देखि १५ दिनभित्र निर्माण सम्पन्न गरी प्रसारणलाइन चार्ज गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘१४ वटा टावर तयार भइसकेका छन् । बाँकी दुईवटा टावरको कार्यप्रगति पनि राम्रो छ । १०–१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ उनले भने ।
प्राधिकरणले हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनलाई राष्ट्रिय विद्युत् प्रणालीको ‘ब्याक बोन’का रूपमा लिएको छ । यो प्रसारणलाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै आन्तरिक विद्युत् खपत विस्तार र निर्यातमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्री श्रेष्ठले प्रसारणलाइन निर्माण सम्पन्न भएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय बन्ने बताए । उनका अनुसार यसले पूर्व–पश्चिम विद्युत् प्रवाहलाई थप सुदृढ, भरपर्दो र दिगो बनाउनेछ ।
प्रसारणलाइन सञ्चालनमा आएपछि देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो हुनुका साथै बढ्दो औद्योगिक विद्युत् माग व्यवस्थापनमा समेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ । साथै, वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जान नदिन तथा भारतलगायत छिमेकी मुलुकसँगको अन्तर्देशीय विद्युत् व्यापार विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको निर्माण विभिन्न कारणले लामो समयदेखि अघि बढ्न सकेको थिएन । मन्त्री श्रेष्ठको पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराई प्रक्रिया अघि बढाइएपछि आयोजनाको निर्माणले गति लिएको प्राधिकरणले जनाएको छ ।
प्रसारणलाइन सम्पन्न भएपछि राष्ट्रिय ग्रिडको विद्युत् वहन क्षमता र प्रणालीको विश्वसनीयता बढ्नेछ । पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुँदा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति विस्तार, आन्तरिक खपत वृद्धि तथा विद्युत् व्यापारका लागि समेत थप आधार तयार हुने अपेक्षा गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया