logo

२०८३ श्रावण १८ सोमबार

logo
  • २०८३ श्रावण १८ सोमबार
  • आन्दोलनको घोषणा लगत्तै प्रसाईं पक्राउ, सरकारको कदममाथि फेरि चर्चा

    733Shares
    आन्दोलनको घोषणा लगत्तै प्रसाईं पक्राउ, सरकारको कदममाथि फेरि चर्चा

    काठमाडौं,  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आन्दोलनको घोषणा गरेको केही घण्टामै प्रहरीले पक्राउ गरेपछि सरकारको कदमलाई लिएर फेरि चर्चा सुरु भएको छ।

    प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। त्यसको केही घण्टापछि राति करिब साढे १० बजे जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरको निकोसेरास्थित निवासबाट नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार सार्वजनिक शान्ति तथा सुरक्षा भंग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रसाईंलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई अन्य थुनुवासँग नराखी जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ।

    पछिल्ला समयदेखि प्रसाईं आन्दोलनको घोषणा गर्ने, प्रहरी नियन्त्रणमा पर्ने र त्यसलाई लिएर राजनीतिक तथा सार्वजनिक बहस हुने क्रम पटक–पटक दोहोरिँदै आएको छ। यसपटक पनि आन्दोलन सार्वजनिक गरेलगत्तै पक्राउ परेपछि सरकारको रणनीति र प्रहरीको कारबाहीबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ।

    सरकार र प्रहरी पक्षले भने कानुन तथा सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर आवश्यक कदम चालिएको बताउँदै आएका छन्। अर्कोतर्फ, प्रसाईं समर्थकहरूले पक्राउलाई आन्दोलन दबाउने प्रयासका रूपमा व्याख्या गर्ने गरेका छन्।

    हाल प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा छन्। उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट