काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई व्यक्तिकेन्द्रित होइन, विधि, विधान र संस्थागत अभ्यासका आधारमा अघि बढाउनुपर्ने बताएका छन्। बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र सम्मानजनक एकता कायम गर्दै लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनु नै पार्टी सुदृढीकरणको आधार भएको धारणा राखेका हुन्।
पार्टीभित्र विभिन्न विचार र धार हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको कारण नभई संवाद र सहमतिमार्फत एकतामा रूपान्तरण गर्नुपर्ने महतले बताए। उनका अनुसार नेपाली कांग्रेस कुनै एक व्यक्तिको पार्टी नभई विभिन्न पुस्ता, विचार र क्षेत्रको साझा लोकतान्त्रिक संस्था भएकाले सबैको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्छ।
महतले सदस्यता वितरण, अधिवेशन र आन्तरिक निर्वाचनलगायतका सम्पूर्ण प्रक्रिया पार्टीको विधानअनुसार निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए। विधि र लोकतान्त्रिक प्रक्रियाको पालना गरेमात्र पार्टीप्रति कार्यकर्ता र आमनागरिकको विश्वास अझ मजबुत बन्ने उनको भनाइ थियो।
उनले कांग्रेसको शक्ति केवल संगठनात्मक संरचना वा पार्टी कार्यालयमा नभई लोकतन्त्रका लागि गरिएको त्याग, संघर्ष र आदर्शमा निहित रहेको उल्लेख गर्दै ती मूल्य–मान्यतालाई जोगाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताए।
पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै महतले कांग्रेसलाई कमजोर बनाउने गतिविधिले समग्र लोकतान्त्रिक शक्तिलाई नै असर पुग्ने चेतावनी दिए।
उनले नेपाली कांग्रेस सधैं लोकतन्त्र, राष्ट्रियता र संविधानको पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै देशको धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै सबै धर्मप्रति समान सम्मान र धार्मिक स्वतन्त्रताको सुनिश्चितता आवश्यक रहेको धारणा पनि राखे। साथै, राष्ट्रहितलाई केन्द्रमा राखेर लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया