logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • उपाध्यक्ष पौडेल पक्राउपछि एमालेमा आकस्मिक छलफल, संसदीय दल र सचिवालय बैठक आज

    718Shares
    उपाध्यक्ष पौडेल पक्राउपछि एमालेमा आकस्मिक छलफल, संसदीय दल र सचिवालय बैठक आज

    काठमाडौं । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिएपछि उत्पन्न राजनीतिक तथा संगठनात्मक अवस्थाबारे छलफल गर्न आज संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

    दुवै बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजना गरिएको एमाले स्रोतले जनाएको छ। तय कार्यक्रमअनुसार दिउँसो २ बजे संसदीय दलको बैठक बस्नेछ भने त्यसपछि साँझ ६ बजे केन्द्रीय सचिवालय बैठक आयोजना गरिनेछ।

    बैठकमा उपाध्यक्ष पौडेलमाथि भइरहेको अनुसन्धान, त्यसले पार्टीमा पारेको प्रभाव तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ। पछिल्लो घटनाक्रमले एमालेभित्र मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा समेत चासो र बहस बढाएको छ।

    पार्टीको समीक्षा भेलामा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई सेयर कारोबार र सम्पत्तिको स्रोतसम्बन्धी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा उनको ललितपुरस्थित भैंसेपाटी निवासमा समेत सम्पत्ति शुद्धिकरण विभागले छानबिन तथा खानतलासी गरेको बताइएको छ।

    सुरक्षा स्रोतका अनुसार पौडेललाई थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइँदैछ। यस विषयमा सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि घटनाक्रमलाई एमालेले गम्भीर रूपमा लिएको देखिएको छ।

    उपाध्यक्ष पौडेलमाथिको अनुसन्धान र त्यसबारे पार्टी नेतृत्वले लिने निर्णयले आगामी दिनमा एमालेको राजनीतिक गतिविधि र रणनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट