logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • चिया निर्यात बढ्यो, अलैँची घट्यो

    985Shares
    चिया निर्यात बढ्यो, अलैँची घट्यो

    भद्रपुर (झापा),: मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

    चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

    भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

    कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

    कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश. २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट