काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।
पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।
श्रीलङ्काको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको थियो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना शुरु भएको खबरमा उल्लेख छ ।
चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत पाउनुभएको थियो । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलङ्कामा १ करोड ७० लाख मतदाता छन् । यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावका रूपमा व्याख्या गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया