विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकताका विषयमा कुनै पनि अन्योलमा नपर्न आग्रह गरेका छन्। उनले नेपाली कांग्रेसको विधान, निर्वाचन आयोगसम्बन्धी प्रचलित कानुन र नेपालको विद्यमान संविधानअनुसार पार्टीको आधिकारिकता शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमै रहने दाबी गरेका छन्।
नेपाली कांग्रेस देउवा समूहको १५औँ नियमित महाधिवेशनअन्तर्गत मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी डा. महतले मंगलबार विराटनगरमा यस्तो बताएका हुन्।
उनले १४औँ नियमित महाधिवेशनबाट विधिसम्मत रूपमा निर्वाचित सभापतिलाई हटाउने अधिकार गगन थापा समूहलाई कुन कानुनी प्रावधानले दिएको हो भन्दै प्रश्न गरे। पार्टीको विधान र स्थापित राजनीतिक प्रक्रियालाई बेवास्ता गर्दै कसैले आफूलाई आधिकारिक कांग्रेस दाबी गर्दैमा त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने उनको भनाइ थियो।
महतले पार्टी सञ्चालन कुनै व्यक्ति वा समूहको चाहना र स्वघोषणाका आधारमा नभई विधान, विधि र कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए। पार्टीको नेतृत्व परिवर्तन गर्न पनि विधानले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले विधि र प्रक्रियाभन्दा बाहिरबाट गरिएको निर्णयले पार्टीको आधिकारिकता प्राप्त गर्न नसक्ने तर्क गरे।
उनले गगन थापा समूहको कदमलाई पार्टीको स्थापित विधान र कानुनी व्यवस्थामाथिको चुनौतीका रूपमा प्रस्तुत गर्दै आधिकारिकताको विषयमा कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रममा नपर्न आग्रह गरे।
कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विषयलाई लिएर विवाद चर्किरहेका बेला डा. महतको यो अभिव्यक्तिलाई देउवा समूहले आफ्नो वैधानिक दाबीलाई थप सशक्त रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया