काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले यसअघि दिउँसो ३:०० बजेसम्मका लागि तोकेको समयलाई बढाएर साँझ ५:०० बजेसम्म कायम गरेको हो।
मतदाताहरूको चाप र सबै प्रतिनिधिलाई मताधिकार सुनिश्चित गराउन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। आज बिहान ७:०० बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी छ। निर्वाचन समितिको पछिल्लो अपडेत अनुसार दिउँसो १२:३० बजेसम्म कुल २,६४४ जना प्रतिनिधिहरूले मतदान गरिसकेका छन्। महाधिवेशनमा कुल ७ हजार २५५ जना प्रतिनिधिहरू सहभागी छन्।
पार्टीको नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि काठमाडौँका तीन प्रमुख स्थानमा मतदान केन्द्रहरू तोकिएका छन्। प्रतिनिधिहरूको सहजताका लागि वाग्मती प्रदेशका लागि राष्ट्रिय सभागृह, कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम, भ्रातृ संस्था र जनसम्पर्क समितिका लागि खुलामञ्च तथा गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनमा छुट्टाछुट्टै बुथको व्यवस्था गरी मतदान भइरहेको छ। साँझ ५:०० बजे मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित गरी मतगणनाको प्रक्रिया अगाडि बढाइनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया