logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • जन्तेढुङ्गा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, उत्कृष्ट कर्मचारी र विद्यार्थी सम्मानित

    940Shares
    जन्तेढुङ्गा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, उत्कृष्ट कर्मचारी र विद्यार्थी सम्मानित

    खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार चिसापानीस्थित गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। “कृषि, पर्यटन र पूर्वाधार, जन्तेढुङ्गा गाउँपालिकाको समृद्धि र विकासको मूल आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा गाउँपालिकाले वर्षभरि सम्पादन गरेका काम, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

    कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष अरुणादेवी राईले गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी स्थानीय शासनका लागि सार्वजनिक सुनुवाइ महत्वपूर्ण माध्यम भएको बताइन्। सो अवसरमा अध्यक्ष राईले गाउँपालिकाका उत्कृष्ट कर्मचारी भिम मगर, जिना राई र दिनेश विष्टलाई सम्मानपत्रसहित सम्मान गरिन्।

    त्यसैगरी, जन्तेढुङ्गा गाउँपालिका अन्तर्गतका विद्यालयमा कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्ने ग्रिस्मा विष्ट (सिंहदेवी मावि), अभिसन राई (सिंहदेवी मावि) र सम्योक पोखरेल (चिसापानी मावि)**लाई सम्मान गरिएको थियो। माध्यमिक शिक्षा परीक्षा (SEE) मा पालिकाभित्र उत्कृष्ट अंक प्राप्त गर्ने सुशिल कटुवालदिप्शीका राईलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष खेम खड्काले किसानहरूको प्रमुख समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणका लागि गाउँपालिकाले गत वर्षदेखि नै बजेट विनियोजन गर्दै आएको जानकारी दिए। उनले समस्या समाधानका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

    यसैबीच, सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुनुभन्दा अघिल्लो दिन वर्षभरिको मेहनतले लगाएको बाली बाँदरले नष्ट गरेको भन्दै किसानहरू प्लेकार्डसहित नाराबाजी गर्दै गाउँपालिका कार्यालय पुगेका थिए। उनीहरूले बाली नोक्सानीको उचित क्षतिपूर्ति तथा बाँदर नियन्त्रणका लागि प्रभावकारी पहल गर्न गाउँपालिकासँग माग गरेका थिए।

    कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, किसान तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा कृषि क्षेत्रका समस्याबारे आफ्ना जिज्ञासा र सुझाव राखेका थिए भने गाउँपालिका नेतृत्वले उठाइएका विषयमा जवाफ दिएको थियो।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट