logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

    823Shares
    सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू तथा काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताए ।

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरे । उनले सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै नेपालको नीति स्थिर, स्पष्ट र अनुमानयोग्य रहने बताए ।

    “नयाँ हुनु भनेको विगतसँग पूर्ण रूपमा अलग हुनु होइन,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै दाहालले बताइन् । लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण तथा राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको पनि उनले बताए ।

    प्रधानमन्त्री शाहले सुशासन, समावेशी आर्थिक वृद्धि र जनमुखी नीतिमार्फत नागरिकका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । उनले लगानी प्रक्रिया थप सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    विदेश नीतिका विषयमा उनले नेपालले सन्तुलित र व्यावहारिक नीति अवलम्बन गर्दै छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँग आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा सम्बन्ध अघि बढाउने स्पष्ट पारे ।

    नेपालको विकास र समृद्धिमा सहयोग पुर्‍याएकोमा विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको बताए ।

    विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति स्थापनाका लागि सैन्य भिडन्तभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य देशका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी विस्तार गर्न इच्छुक रहेको बताएका थिए ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट