logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • 736Shares

    ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार, सिक्रेट सर्विसको जवाफी कारबाहीमा एकजनाको मृत्यु

    वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर शनिबार साँझ भीषण गोलाबारी भएको छ। ह्वाइट हाउस नजिकै गुडिरहेको सर्वसाधारण र सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन्। स्रोतका अनुसार स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको हो।

    अमेरिकी सिक्रेट सर्विसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट अत्याधुनिक हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए। बन्दुकधारीले एक्लै गुप्तचर एजेन्टहरूलाई लक्षित गरी असफल आक्रमणको प्रयास गरेको सीबीएस न्यूजले जनाएको छ। प्रत्यक्षदर्शी र विभिन्न स्रोतहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको आवाज सुनिएको थियो। बन्दुकधारीले गोली चलाउन थालेलगत्तै ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएका थिए। सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

    गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौं पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा तत्कालै ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए। त्यसपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो। घटनाको करिब एक घण्टापछि (स्थानीय समय अनुसार बेलुका ७ बजे) मात्र स्थिति नियन्त्रणमा आएपछि लकडाउन खोलिएको थियो।

    सिक्रेट सर्विसका अनुसार घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए। तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच आएको छैन र ह्वाइट हाउसको कार्यसञ्चालनमा पनि कुनै असर नपरेको सीबीएस न्यूजले स्पष्ट पारेको छ।

    एक महिना अघि मात्र ह्वाइट हाउसमै पत्रकारहरूका लागि आयोजना गरिएको डिनर कार्यक्रममा पनि एक बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो। उक्त घटनाको ठीक एक महिनापछि पुनः ह्वाइट हाउसकै मुख्य क्षेत्रमा भएको यो दोस्रो गोलाबारीले यस क्षेत्रको सुरक्षा संवेदनशीलता र चुनौतीलाई झनै बढाएको छ।

    घटनालगत्तै ह्वाइट हाउस वरपरका सडकहरूमा दर्जनौं प्रहरी र अन्य विशेष सुरक्षा अधिकारीहरू परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएका छन्। मारिएका बन्दुकधारीको पहिचान खुलाउन र उनको मुख्य उद्देश्य के थियो भन्नेबारे थप विवरण आउन बाँकी रहेको सुरक्षा निकायले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट