logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • चौरासी वर्षमा युवाकाे जस्तै जोसजाँगर, साइकलमा डुल्दै व्यापार

    940Shares
    चौरासी वर्षमा युवाकाे जस्तै जोसजाँगर, साइकलमा डुल्दै व्यापार

    वेदकोट (कञ्चनपुर): चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जँुगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।

    साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उहाँको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा कम छैन । उहाँले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहनुभएको छ । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उहाँले भन्नुभयो, “डोरी बेचेरै पेट पालिएको छ ।”

    डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिनुहुन्छ । फुर्सदमा उहाँ चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्नुहुन्छ । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्नुहुन्छ । उहाँका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई÷तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”

    सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उहाँकी श्रीमती ५४ वर्षकै उमेरमा बित्नुभयो । कोरोना महामारीपछि यो व्यापारमा लागेको उहाँ बताउनुहुन्छ । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उहाँले भन्नुभयो, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट