काठमाडौँ: नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत रूपमा सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मा रूपान्तरण भएसँगै प्रसारण गरिने सामग्रीको प्राथमिकता र एकरूपताका बारेमा संयुक्त रूपमा छलफल सुरू भएको छ ।सार्वजनिक सेवा प्रसारणमार्फत पस्कने विषयवस्तुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपाल टेलिभिजन र रेडियो नेपालका समाचारकर्मीले आज छलफल गरेका हुन् । दुवै संस्था एकीकृत भएर पिएसबीमा परिणत भएसँगै समाचार कक्षको प्राथमिकता, संरचना र शैलीमा एकरूपता ल्याउन गर्नेुपर्ने कामका बारेमा आजको छलफल केन्द्रित थियो ।
‘सार्वजनिक सेवा प्रसारणमा समाचार : विषयवस्तु जिम्मेवारी र जवाफदेहिता’ विषयक एक दिने कार्यशालाको सुरु गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको उद्देश्य र नीति अनुरूप समाचार सामग्री परिमार्जन गर्न दुवै निकायका समाचारकर्मीलाई सुझाव दिनुभयो । प्रसारणको विषयवस्तु संस्थाको नीतिले मार्गदर्शन गर्ने बताउँदै उहाँले अब प्रसारण हुने समाग्री जनताप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्यअनुसार समाचारको प्राथमिकता निर्धारण गर्न पुरानो सोचाइलाई हटाएर दृष्टिकोण नै नयाँ बनाउनुपर्ने बताउनुभयो । सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीको उद्देश्य पूरा गर्न जनसरोकारका विषयलाई महत्व दिनुपर्ने विचार राख्नुभयो ।
सार्वजनिक सेवा प्रसारण र समाचारका प्राथमिकता, सम्पादकीय स्वतन्त्रता, जनउत्तरदायित्व, संरचना, प्रस्तुति र शैलीलगायत विविध आयामका बारेमा सञ्चार विज्ञ रघु मैनालीसँग समाचारकर्मीले अन्तरक्रिया गरेका थिए । विज्ञ मैनालीले समाचारमा ‘हाइरेकी ब्रेक’ गर्दै जनता केन्द्रित बन्ने अवसर पिएसबीले जुटाएको बताउनुभयो ।सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण ऐन ल्याएसँगै अहिले यी दुवै संस्थाभित्र पिएसबी अनुरूपको आन्तरिक परिवर्तन र संस्थागत संरचनाको बारेमा व्यापक तयारी भइरहेको जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया