काठमाडौँ।३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज गोरखा दरबारबाट शुभारम्भ भएको छ ।
गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडाँैको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।
श्री पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप- प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले बताए । पृथ्वीनारायण शाहले खडा गरेको तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणको झण्डासमेत बोकेर सेनाले बोकेको छ ।
पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर यही पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहकाबिच समापन हुने बताइएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने नेपाली सेनाले जानेको छ । त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भई रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया