logo

२०८३ असार १३ शनिबार

logo
  • २०८३ असार १३ शनिबार
  • ‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’

    727Shares
    ‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’

    ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न भएको छ। यही असार ११ गते बिहिवार महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जनसरकारका कार्यकारी उपाध्यक्ष श्री चाओ पेङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सिचाङ जनसरकारका पदाधिकारीहरू, परराष्ट्र मामिला कार्यालय, पर्यटन, यातायात, उद्योग, वाणिज्य, मानव संशाधन, भन्सार, अध्यागमन, सीमा सुरक्षा, सार्वजनिक सुरक्षा लगायत सम्बन्धित विभागका उच्च अधिकारीहरू, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासामा व्यवसाय गरिरहेका नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा महावाणिज्यदूतावासका कर्मचारीसहित कुल ११३ जनाको सहभागिता रहेको थियो।

    प्रमुख अतिथि श्री चाओ पेङले आफ्नो सम्बोधनमा कार्यक्रमको निमन्त्रणा तथा धारणा राख्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले दुई पक्षबीचका विषयहरू संवादका माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेपाल चीनको सच्चा मित्र राष्ट्र रहेको र दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको सम्मान गर्दै आएको धारणा राख्नुभयो।

    उहाँले नेपाल भ्रमणका क्रममा नेपालका माननीय परराष्ट्र मन्त्री तथा अन्य उच्च पदाधिकारीहरूसँग भएको भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्दै नेपाल शान्त, सुन्दर तथा चीनको हितैषी राष्ट्र भएकाले चिनियाँ लगानीकर्ता तथा व्यवसायीलाई नेपाल भ्रमण, व्यापार र लगानी गर्न आग्रह गर्नुभयो। साथै, नेपाल तथा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारको सहयोग गर्न सिचाङ सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

    अध्यक्षीय मन्तव्यका क्रममा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले प्रमुख अतिथि श्री चाओ पेङ, विशिष्ट अतिथिहरू, सहभागीहरू तथा कार्यक्रम संयोजनमा सहयोग पुर्‍याउने सिचाङ परराष्ट्र मामिला कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपालको व्यापार, पर्यटन तथा लगानी सम्भावनाबारे चिनियाँ सरकारी निकाय तथा लगानीकर्तालाई जानकारी गराई यी तीन क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सहभागीको संख्या तथा गुणस्तरका दृष्टिले अत्यन्त सफल भएको बताउनुभयो।

    महावाणिज्यदूत निरौलाले चीनको केन्द्रीय सरकार, सिचाङ स्वायत्त क्षेत्रीय सरकार तथा चिनियाँ जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै सातौँ शताब्दीमा राजकुमारी भृकुटी तथा बाह्रौँ शताब्दीमा अरनिकोले स्थापित गरेको नेपाल–चीन तथा विशेषतः नेपाल–तिब्बत सम्बन्ध आपसी विश्वास, सहयोग र सद्भावमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्दै चीन सदैव नेपालको असल मित्र र विकास साझेदारका रूपमा रहेको बताउनुभयो।

    यसअघि कार्यक्रम प्रारम्भ हुनुअघि सोही होटलमा कार्यकारी उपाध्यक्ष श्री चाओ पेङ र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच शिष्टाचार भेटवार्ता भएको थियो।भेटका क्रममा महावाणिज्यदूत निरौलाले चीनले नेपाललाई प्रदान गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै हालै सम्पन्न नेपालका माननीय परराष्ट्र मन्त्रीको चीन भ्रमण तथा कार्यकारी उपाध्यक्ष पेङको नेपाल भ्रमणलगायत उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको धारणा राख्नुभयो। उहाँले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै सिचाङको विकासमा नेपाली समुदायको योगदानको चर्चा गर्नुभयो।

    उहाँले सीमाक्षेत्रको पूर्वाधार विकास, सीमा नाकाबाट हुने आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा बसोबास गर्ने नेपालीहरूको व्यवसाय तथा आवागमनमा सहजता, नेपाली नागरिकलाई भिसा तथा तिब्बत प्रवेश अनुमतिमा थप सहुलियत उपलब्ध गराउन अनुरोध गर्नुभयो। साथै, राजकुमारी भृकुटीको समयमा ल्हासामा स्थापना भएको सरस्वती मन्दिर तथा सन् ९५६ मा सिगात्सेमा स्थापना भएको नेपाली भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोग गर्न आग्रह गर्नुभयो।

    जवाफमा कार्यकारी उपाध्यक्ष श्री चाओ पेङले नेपाल र सिचाङबीच हिमालय र नदीहरूले जोडिएको सीमा जस्तै दुई पक्षबीचको सम्बन्ध पनि बलियो रहेको बताउनुभयो। उहाँले सिचाङमा संसारकै एक मात्र कूटनीतिक निकायका रूपमा नेपाली महावाणिज्यदूतावास लामो समयदेखि क्रियाशील रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले सीमा व्यवस्थापनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको, पुरातात्त्विक महत्वका सरस्वती र भीमसेन मन्दिरको जीर्णोद्धारका लागि पहल गरिने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको र त्यससम्बन्धी नेपालको औपचारिक प्रतिक्रियाको प्रतीक्षा भइरहेको जानकारी दिनुभयो।

    कार्यक्रमको सञ्चालन उपवाणिज्यदूत दीक्षा महतले गर्नुभएको थियो भने नेपालको व्यापार, पर्यटन तथा लगानी सम्भावनाबारे वाणिज्यदूत सविन भट्टराईले प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा नेपालका व्यापार, पर्यटन र लगानीका अवसरसम्बन्धी छुट्टाछुट्टै प्रवर्द्धनात्मक भिडियोसमेत प्रदर्शन गरिएको थियो।



    फास्ट न्युज    
  • २०८३ असार १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट