बेइजिङ । नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पुन: व्यक्त गरेको छ । चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्याउँदै सुशासन र आर्थिक विकासका प्राथमिकतामा पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यी बीच सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा दुवै पक्षले यी प्रतिबद्धता व्यक्त गरेका हुन् । बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे गहन छलफल भएको थियो ।
नेपाली पक्षले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता पुन: दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको थियो । जवाफमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान तथा समर्थन दोहोर्याएको थियो ।
साथै, नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको थियो । वार्ताका क्रममा दुवै पक्षले एकअर्काका प्राथमिकता र संवेदनशीलताप्रति सम्मान व्यक्त गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति जनाएका थिए ।
पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् । क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य थप विस्तार गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।
द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाईसिङसँग पनि भेटवार्ता गरेका थिए ।
भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा पार्टी–पार्टीबीचको आदानप्रदान विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । सोमबार नै मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा उनलाई संस्थानका गतिविधि तथा त्रिभुवन विश्वविद्यालयलगायत नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी गराइएको थियो । मन्त्री खनालले विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया