काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा न्यून आर्थिक वृद्धि लक्ष्य हो । चीनले स्वदेश र विदेश दुवैतिरका चुनौतीहरूसँग जुधिरहेका बेला आफ्नो वार्षिक आर्थिक वृद्धिको लक्ष्य घटाएर ४.५ प्रतिशत देखि ५ प्रतिशतको दायरामा झारेको हो ।
प्रधानमन्त्री ली किआङले बिहीबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा १५ औं पञ्चवर्षीय योजनाका केही विवरणहरू पनि सार्वजनिक गरिएको छ। सोही बैठकमा सन् २०२६ का लागि कुल गार्हस्थ उत्पादनको लक्ष्य ४.५ देखि ५ प्रतिशत राखेको हो । सन् २०२५ मा यो लक्ष्य ५ प्रतिशत थियो ।
घटाइएको यो आर्थिक वृद्धिदरले चीनको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्ने समेत अलजजिरामा उल्लेख छ । कुनै समय चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रको योगदान २५ देखि ३० प्रतिशतसम्म रहन्थ्यो । अहिले घरजग्गा क्षेत्रको पतनकै कारण आर्थिक सुस्तता आएको बताइएको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका चिनियाँ अर्थशास्त्री तियानचेन सुले भने, ‘यो वृद्धि लक्ष्य निकै यथार्थपरक छ।” उनले यो तथ्याङ्कले चीनको थप रूढीवादी वा सतर्क अपेक्षातर्फको झुकावलाई दर्शाएको छ ।’
सन् २०२३ मा आर्थिक वृद्धिको लक्ष्य घटाएर ‘करिब ५ प्रतिशत’ कायम गरिएयता यो पहिलो पटक हो जब यसलाई पुन: घटाइएको छ। सन् २०२० मा भने महामारीका कारण कुनै लक्ष्य निर्धारण गरिएको थिएन।
कमजोर उपभोग, घट्दो जनसंख्या, घरजग्गा क्षेत्रमा आएको संकट, विश्वव्यापी व्यापारिक तनाव र इरान युद्धका कारण सिर्जित ऊर्जा संकट जस्ता समस्याहरू सामना गरिरहेको बेइजिङले आफ्नो अर्थतन्त्रलाई नयाँ स्वरूप दिने लक्ष्य राखेको छ।
बेइजिङले प्रमुख उद्योगहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणहरू लागू गर्ने योजनाका साथ विश्वव्यापी प्राविधिक शक्तिकेन्द्र बन्ने आफ्नो महत्त्वाकांक्षालाई पनि स्पष्ट पारेको छ। चीनको लक्ष्य हरित ऊर्जा अभियानको नेतृत्व गर्ने, कार्बन उत्सर्जन घटाउने र वातावरणीय संरक्षणमा सुधार गर्ने समेत उल्लेख छ।
प्रतिवेदनका अनुसार, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाका चिन्ताहरूलाई सम्बोधन गर्दै देशले ‘बच्चा-मैत्री समाज’ निर्माण गर्नेछ। चीनले वृद्धवृद्धाको बढ्दो संख्या र घट्दो जन्मदरको सामना गरिरहेको छ, जसले आफ्नो अर्थतन्त्रलाई गति दिने बेइजिङको योजनालाई जटिल बनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया