logo

२०८२ माघ १ बिहीबार

logo
  • २०८२ माघ १ बिहीबार
  • प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सकियो

    790Shares
    प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सकियो

    खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम अन्ततः सम्पन्न भएको छ । विक्रम संवत् २०७६ सालमा सुरु गरिएको सडक ढलान सात वर्षपछि पूरा भएको हो ।

    दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै हिउँदमा धुलो र बर्खामा हिलोका कारण हुने समस्या अन्त्य भएको छ । लामो समयदेखि साँघुरो, धुलाम्मे र हिलाम्मे सडकका कारण सर्वसाधारण तथा व्यापारीले सास्ती भोग्दै आएका थिए ।

    उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले लामो प्रतीक्षापछि सडक ढलान पूरा हुँदा दिक्तेल बजारको स्वरूप नै परिवर्तन भएको बताए । सङ्घ र प्रदेश सरकारबाट उपलब्ध छ चरणको बजेटमार्फत बजारको सम्पूर्ण सडक ढलान गरिएको उनले जानकारी दिए ।

    दिक्तेलस्थित शङ्धर साख्वा चोकदेखि भानुचोकसम्मको सडक ढलान पुस २७ गते सम्पन्न भएसँगै योजना पूर्णता पाएको हो । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङको ९५ लाख ८५ हजार ७८ रुपैयाँ (भ्याट र पिएससहित) लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रालिले काम सम्पन्न गरेको हो ।

    निर्माण कम्पनीले २०८२ साल चैत २२ गतेभित्र काम सक्ने सम्झौता गरे पनि सम्झौता मितिभन्दा करिब तीन महिना अगावै काम सम्पन्न गरिएको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए ।

    यसअघि नै दिक्तेल बजारका अन्य सडक खण्ड ढलान भई सञ्चालनमा आइसकेका थिए । बजेट अभावका कारण लामो समयसम्म काम अधुरो रहँदा राजनीतिक दल तथा स्थानीयवासीबाट आलोचना हुँदै आएको थियो । तत्कालीन समयमा स्थानीयवासीको असहयोगका कारण केही बजेट फिर्ता समेत गर्नुपरेको थियो ।

    निर्माण कम्पनीका प्रबन्ध निर्देशक तथा दिक्तेल बजारवासी ध्रुव श्रेष्ठले सम्झौता अवधि अगावै काम सम्पन्न गरेपछि अब सदरमुकामको सडकमा सास्ती नहुने बताए ।

    यसैबीच, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दिक्तेल बजारको सडक ढलानसँगै सौन्दर्यकरणका लागि एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त बजेटबाट राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण तथा बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको छ ।

    जीर्ण अवस्थामा पुगेको भानुभक्तको सालिकलाई हालको स्थानबाट केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माण गरिँदैछ । सालिक वरपर टाइल जडान, रङरोगन, प्रकाश व्यवस्था, बगैँचा निर्माण, साङ्केतिक चिह्न स्थापना तथा भानुभक्तका कविताका हरफ समावेश गरी सौन्दर्यकरण गरिने कार्यालयले जनाएको छ ।

    भानुचोकस्थित सालिक पुनः निर्माणका लागि गत कात्तिक २ गते बोलपत्र आह्वान गरिएको थियो । एक करोडको ठेक्कामध्ये सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसी खोटाङले ८१ लाख ९ हजार २२९ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ ।

    पूर्वाधार विकास अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङको प्रवेशद्वारदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय र त्यहाँबाट नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माण गरिने जनाइएको छ ।

    पूर्वाधार तथा सौन्दर्यकरणका काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन सुदृढ भई ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा ललितकला क्याम्पस, काठमाडौंका विद्यार्थीले समेत बजार क्षेत्रमा विभिन्न चित्रकलामार्फत सौन्दर्यकरणमा सहयोग गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट