logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

    961Shares
    बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

    काठमाडौं– पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ ।विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख जरिवाना गरेको छ । सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को (१) बमोजिम कारबाही गरिएको हो । विभागले काठमाडौं र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको हो । त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

    उपभोक्ता संरक्षण ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहायबमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।

    विभागले काठमाडौं–१६ क्षेत्रपाटीको होम मेड स्पाइन्स एण्ड टीसपलाई २० हजार, जिकेएसएस इन्टरप्राइजेज प्रालि गट्ठाघरलाई १० हजार, आशिष टे«ड लिङ्क क्षेत्रपाटीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले आइके सर्जिकल सप्लायर्स क्षेत्रपाटी काठमाडौंलाई ५५ हजार रुपैयाँ जरिवाना रकमसहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

    सिटी मिनरल वाटर एण्ड वेभरेज प्रालि टोखा–८ काठमाडौंलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य सात वटा उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन दिइएको छ ।(रासस)



    फास्ट न्युज    
  • २०८२ मंसिर ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट