logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

    955Shares
    तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर ३९ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । सोमवार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको भट्टराईले जानकारी दिनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । भक्तपुरका केही नेवार समुदायले हिजो नै किजापूजा गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट