logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • बाढी प्रभावित क्षेत्रमा कांग्रेसको ध्यान, नियमित कार्यक्रम रोकेर स्रोत–साधन परिचालन गर्ने

    703Shares
    बाढी प्रभावित क्षेत्रमा कांग्रेसको ध्यान, नियमित कार्यक्रम रोकेर स्रोत–साधन परिचालन गर्ने

    काठमाडौं । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपाली कांग्रेसले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै विपद् प्रभावित क्षेत्रमा स्रोत–साधन परिचालन गर्ने भएको छ।

    कांग्रेसले बिहीबार आयोजना गर्न लागेको महिला उद्यमशीलता सम्मेलन स्थगित गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ‘ग्रीन टेबल’ शृंखलाको १८औँ कार्यक्रम पनि तत्कालका लागि रोक्ने निर्णय गरेको सभापति गगनकुमार थापाले जानकारी दिए।

    नियमित कार्यक्रमभन्दा अहिले उद्धार, राहत र प्रभावित नागरिकलाई सहयोग गर्नु प्राथमिकता भएको कांग्रेसको भनाइ छ। सभापति थापाले प्रभावित जिल्लाका नेता तथा कार्यकर्तालाई समेत आवश्यकताअनुसार सहयोगमा जुट्न आग्रह गरेका छन्।

    थापाका अनुसार प्रभावित क्षेत्रमा कांग्रेसका नेता तथा जनप्रतिनिधिसँग समन्वय गरेर आवश्यकताका आधारमा स्रोत, साधन र जनशक्ति परिचालन गरिनेछ। उनले विपद्को समयमा ठूलो संख्यामा मानिसहरू एकैपटक प्रभावित क्षेत्रमा पुग्दा उद्धार तथा राहतमा झन् कठिनाइ हुन सक्ने भएकाले व्यवस्थित ढंगले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

    “बाँकी रहेका अप्रभावित जिल्लाका साथीहरूले पनि मद्दत पुर्‍याउनुपर्छ,” थापाले भने, “विपत्का बेलामा धेरै मान्छे लर्को लागेर जाँदा पनि सहयोग पुग्दैन। मोहनजीको संयोजनमा आवश्यकताअनुसार हामी स्रोत, साधन, धनजनका साथ परिचालित हुनुपर्छ भनेर सोच्यौँ।”

    प्रभावित क्षेत्रमा सहयोगका लागि विभिन्न भ्रातृ संस्थालाई समेत परिचालन गर्ने तयारी कांग्रेसको छ। पार्टीले तत्काल राजनीतिक तथा सांगठनिक कार्यक्रमभन्दा मानवीय सहायता र विपद् प्रभावितको सहयोगलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।

    भोटेकोशीमा तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएपछि त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत परेको छ। यस्तो अवस्थामा पार्टीका नियमित गतिविधि थाती राखेर विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउने रणनीति कांग्रेसले अघि सारेको हो।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट