काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्दैछन् । विभिन्न दलका ११ सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न नाम दर्ता गराएका छन् ।
तर, यसपटक संसद्मा प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू बैठकअघि नै सार्वजनिक नहुने भएका छन् । प्रश्नहरू संसद् सचिवालयमा दर्ता भइसके पनि तिनको विषयवस्तु सञ्चारमाध्यम तथा सार्वजनिक रूपमा नखोलिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।
यसको मुख्य उद्देश्य प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई औपचारिकतामा सीमित नगरी प्रत्यक्ष र प्रभावकारी बनाउनु रहेको सचिवालयका अधिकारीहरूको भनाइ छ । त्यसैले सांसदहरूले कुन विषयमा के प्रश्न गर्दैछन् भन्ने कुरा बैठक सञ्चालन भएपछि मात्रै सार्वजनिक हुनेछ ।
सीमा विवादलगायत राष्ट्रिय चासोका विषयमा प्रधानमन्त्रीसँग प्रश्न उठ्ने तयारी रहेको भए पनि प्रश्नको वास्तविक स्वरूप भने बुधबारको सदनमै खुल्नेछ ।
प्रधानमन्त्रीलाई प्रश्न गर्ने सांसदहरूमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू छन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउन सकिने व्यवस्था छ ।
यसपटक बढीमा १५ सांसदले प्रश्न गर्न पाउने व्यवस्था भए पनि ११ जनाले मात्रै प्रश्न दर्ता गराएका छन् । प्रश्नको जवाफ दिएपछि त्यसबारे सदनमा थप छलफल भने नहुने व्यवस्था छ ।
यसले बुधबारको प्रश्नोत्तरलाई प्रधानमन्त्री बालेनका लागि संसद्भित्र प्रत्यक्ष रूपमा उठ्ने सवालको सामना गर्ने अवसरका रूपमा मात्र होइन, सांसदहरूले सरकारका कामकारबाही र समसामयिक विषयमा कस्तो दबाब सिर्जना गर्छन् भन्ने परीक्षणका रूपमा समेत हेरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया