काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारप्रति अविश्वास व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भने आफ्नो संवाद निरन्तर रहेको बताएका छन्।
सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारलाई ‘अपरिपक्व र विचारविहीन’ भएको टिप्पणी गरे। उनले सरकारलाई ‘समुद्रमा कम्पास हराएको जहाज’ जस्तो संज्ञा दिँदै लामो समय टिक्न नसक्ने दाबी गरे।
सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाएका प्रचण्डले रास्वपा सभापति लामिछानेप्रति भने तुलनात्मक रूपमा सकारात्मक धारणा राखे। उनले प्रधानमन्त्री शाहभन्दा लामिछानेमा बढी राजनीतिक परिपक्वता देखिएको बताए।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा रहेका लामिछाने, सभामुख डोलप्रसाद अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग नियमित संवाद भइरहेको बताए। पुरानो सहकार्यका कारण उनीहरूसँग कुराकानी गर्न सहज रहेको उनको भनाइ थियो।
लामिछानेसँगको सम्बन्धबारे प्रचण्डले आफूले विगतमा गरेको सहयोगको प्रसंगसमेत उठाए। लामिछानेमाथि राजनीतिक संकट पर्दा संसद् र संसद् बाहिर आफ्नो पक्षबाट बचाउ गरेको तथा जेलमै पुगेर भेटेको उल्लेख गर्दै उनले “रविजीले मेरो गुन तिर्न बाँकी छ” भने।
यसैबीच प्रचण्डले रास्वपाभित्र पनि अन्तरविरोध देखिन थालेको दाबी गरेका छन्। पार्टीभित्रै केही नेताले वर्तमान सरकार दसैँसम्म नटिक्ने बताउन थालेको आफूले सुनेको उनको भनाइ छ।
प्रचण्डका पछिल्ला अभिव्यक्तिले एकातिर शाह नेतृत्वको सरकारप्रति उनको तीव्र असन्तुष्टि देखाएको छ भने अर्कोतिर लामिछानेसँगको संवाद र राजनीतिक निकटतालाई पनि सार्वजनिक रूपमा संकेत गरेको छ।
प्रतिक्रिया