काठमाडौं । सेयर बजार मंगलबार उच्च अङ्कले बढेको छ। हिजो १७ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से मंगलबार ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ ।
शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २९ गते सेयर बजार २ हजार ३ सय ५० दशमलव ४२ विन्दुमा पुगेको थियो ।
आज म्युचल फन्ड समूह बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
मंगलबार सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। यस्तै १० वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढेको दिन ३ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
मंगलबार ३ सय १५ वटा कम्पनीका २ करोड ५८ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको माघ ३ गते ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd