काठमाडौं । हर्कराज राईले संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस प्रक्रियामा वरिष्ठताको क्रम मिचिएको भन्दै आपत्ति जनाएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका साम्पाङले आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुवी कुमारी ठाकुरले उक्त निर्णयमा सहमति जनाएको विषयप्रति असन्तुष्टि व्यक्त गर्दै विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु नै गलत भएको उल्लेख गर्दै सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीशमा सिफारिस गरेर अर्को गम्भीर गल्ती गरेको आरोप लगाइएको छ।
साम्पाङले यस्तो निर्णयले विधि, सुशासन र न्याय प्रणालीमाथि प्रश्न उठाएको बताएका छन्।
उनले सहकारी ठगी प्रकरण, भुटानी शरणार्थी प्रकरण, एमसीसी तथा एसपीपीजस्ता विषयमा राजनीतिक स्वार्थअनुसार निर्णय गराउन खोजिएको आशंका व्यक्त गर्दै न्यायालयलाई समेत प्रभावमा पार्ने प्रयास भइरहेको दाबी गरेका छन्।
विज्ञप्तिमा संवैधानिक परिषद्को बैठकमा सहभागी आफ्नै पार्टीका प्रतिनिधिबाट वरिष्ठताको क्रम उल्लंघन भएको निर्णयमा हस्ताक्षर हुनु खेदजनक रहेको उल्लेख गरिएको छ। “विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्छ,” विज्ञप्तिमा भनिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया