logo

२०८२ माघ २१ बुधबार

logo
  • २०८२ माघ २१ बुधबार
  • दाङ हत्याका आरोपी पक्राउ, ज्यान जाने कारण ३० रुपैयाँको रक्सी

    931Shares
    दाङ हत्याका आरोपी पक्राउ, ज्यान जाने कारण ३० रुपैयाँको रक्सी

    काठमाण्डाै।  दाङमा करिब एक महिना पहिले भएको एक युवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–९ असराका ३२ वर्षीय विजय पौडेल तुलसीपुर उपमहानगरपालिका–१७ स्थित हापुर खोला बगरमा पुस १५ गते बेलुका ८ बजेतिर चोटग्रस्त अवस्थामा फेला परेका थिए। विजयको टाउकोमा गहिरो घाउखत थियो।

    घाइते पौडेललाई उद्धार गरी प्रहरीले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो। पछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर पुर्‍याइएको थियो। उपचारका क्रममा विजयको पुस १६ गते बिहान ३ बजेतिर मृत्यु भएको थियो।

    हत्या आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ नयाँ बस्तीका २८ वर्षीय प्रदीप वलीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदीपलाई सोमबार बेलुका ८ बजेतिर तुलसीपुर–१६ रावत गाउँस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

    इप्रका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार विजयलाई ढुंगा प्रहार गरेछि प्रदीप भागेर भारत पुगेका थिए। उनी आइतबार बेलुका मात्रै फर्किएर आफन्तको घरमा लुकिछिपी बसेका थिए।

    “रक्सी माग्दा अपरिचित दुई युवाबीच विवाद भएको तथ्य अनुसन्धानबाट खुल्छ,” डिएसपी पराजुलीले भने, “प्रदीपले रक्सी किनेको देखेपछि विजयले पसलबाट पछ्याउँदै आएर बगरमा पुगेपछि माग्दा विवाद भएको र त्यही क्रममा प्रदीपले ढुंगाले प्रहार गरेको स्वीकार गरेका छन्।” जिल्ला प्रहरी प्रवक्ता शाहका अनुसार घटना भएको दिन पुस १५ गते बेलुका पाँच बजेतिर गाउँकै एक पसलमा प्रदीपले ३० रूपैयाँको घरेलु (लोकल) रक्सी किनेको विजयले देखेका थिए।

    पछ्याइरहेका विजयले हापुर खोला बगर पुगेपछि प्रदीपसँग रक्सी मागेका थिए। हिरासतमा रहेका प्रदीपले दिएको बयान अनुसार आफूले रक्सी दिन नमानेपछि विजयले म डन हुँ भन्दै धम्क्याएका थिए। उनले तथानाम गाली गरेर हात छाडेको पनि प्रदीपको दाबी छ। सुरूमा मृतक विजयले हात छाडेको दाबी प्रदीपको छ, डिएसपी पराजुलीले भने, “रक्सी खोस्न थालेपछि आफूले पनि कुटपिट गर्दै ढुंगाले टाउकोमा प्रहार गरेको र विजय लडेपछि आफू भागेको बयान दिएका छन्।”
    घटनास्थलबाट प्रहरीले पसलेले लोकल रक्सी हालेर दिएको कालो पोलिथिनभित्र प्लास्टिकको गिलास, खानेकुरा लगायत वस्तु फेला पारेको थियो।

    “जम्मा ३० रूपैयाँको रक्सीको निहुँमा ढुंगा हानेको देखिन्छ,” डिएसपी शाहले भने, मृतक र हत्या आरोपी एक–आपसमा परिचित थिएनन्।ु

    दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले यसअघि नै रक्सीका कारण हत्या भएको बताएका थिए। हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको तर भागेर भारत पुगेको उनले बताएका थिए।

    खोला बगरमा रगताम्मे र अचेत अवस्थामा विजयलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उद्धार गरी बेलुका ८ बजेतिर अस्पताल पुर्‍याएको थियो।

    स्थानीय र पसलेसँग सोधपुछ गर्दा त्यो दिन रक्सी किनेर लैजाने हत्या आरोपी प्रदीपबारे खुलेको थियो। त्यति बेलासम्म प्रदीप फरार भइसकेका थिए। सोमबार भने उनी पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी प्रवक्ता शाहका अनुसार मंगलबार जिल्ला अदालत दाङले प्रदीपलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको छ।



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार