logo

२०८३ मंसिर ५ शुक्रबार

logo
  • २०८३ मंसिर ५ शुक्रबार
  • हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै

    892Shares
    हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै

    काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र भगवान् विष्णुको विधिपूर्वक विवाह तथा विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ । यस अवधिमा विष्णुभक्तले तुलसीको व्रत तथा विशेष पूजा गर्ने परम्परा छ ।

    भगवान् विष्णु शयन गर्ने भएकाले चतुर्मास अवधिमा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने धार्मिक मान्यता छ । यस समयमा नदी तथा खोलामा बाढी आउने र सर्पजस्ता जीवको जोखिम हुने भएकाले लामो यात्रा नगर्नु शुभ मानिने परम्परा पनि छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाइन्छ । त्यसपछि तुलसीलाई भगवान् विष्णुको प्रतीक मानेर विवाह गराउने चलन छ । तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाह गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । यस अवसरमा तुलसीको मठ नजिकै निगालाको लिङ्ग गाडेर विष्णुको प्रतीकका रूपमा विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

    धार्मिक मान्यताअनुसार कार्तिक महिनाभर सबै देवीदेवता तुलसीमा निवास गर्छन् । आदिकालदेखि पूजिँदै आएको तुलसीलाई धार्मिक तथा औषधीय दृष्टिले पनि महत्त्वपूर्ण वनस्पति मानिन्छ । तुलसीको मठ भएको घरलाई तीर्थ समान मान्ने धार्मिक विश्वास छ ।

    तुलसीको पात, डाँठ तथा फूलको रस परम्परागत रूपमा रुघाखोकीलगायत समस्यामा प्रयोग हुँदै आएको छ । तुलसीको सुगन्धले वातावरण शुद्ध बनाउने र विभिन्न कीटाणुबाट बचाउन सहयोग गर्ने जनविश्वाससमेत रहेको छ ।

    कात्तिक शुक्ल पक्षमा तुलसीको माला लगाउँदा तथा भगवान् विष्णुलाई एक लाख तुलसीपत्र अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गरुडपुराणमा उल्लेख भएअनुसार एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ ।

    हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलनसमेत छ । राति शङ्ख, घण्ट र ढोल बजाउँदै ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै भगवान् विष्णुलाई जगाउने परम्परा रहेको छ ।

    यस अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायणमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । चार नारायण पुग्न नसक्नेले काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    आज देशभरका विभिन्न नारायण मन्दिर तथा तीर्थस्थलमा विशेष पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट