काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत यस फिल्मले भारतीय बक्स अफिसमा समेत उल्लेखनीय व्यापार गरेको छ ।
फिल्मले प्रदर्शनको आठ दिनमा विश्वभरबाट कुल १ हजार ३३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाएको छ । भारतमा मात्रै यसको कुल कमाइ ६७५ करोड ५ लाख रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ३५८ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ ।
नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन भारतमा ६४ करोड ८५ लाख रुपैयाँ खुद कमाइ गरेको थियो । प्रदर्शनको पाँचौँ दिन सबैभन्दा बढी १०७ करोड ५० लाख रुपैयाँ कमाएको फिल्मको आठौँ दिनको कमाइ भने २४.३ प्रतिशतले घटेर ५३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।
भारतमा फिल्मको कुल खुद कमाइमध्ये हिन्दी संस्करणको हिस्सा सबैभन्दा बढी रहेको छ । हिन्दी भाषामा मात्रै ४३७ करोड रुपैयाँ कमाइ भएको छ । त्यस्तै, कन्नड संस्करणबाट ४८ करोड ९५ लाख, तेलुगुबाट ३८ करोड ५ लाख, तमिलबाट २२ करोड १५ लाख र मलयालमबाट १८ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।
आठ दिनमै विश्वव्यापी रूपमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेसँगै ‘रामायण’ छोटो समयमै यो आँकडा पार गर्ने भारतीय फिल्ममध्ये एक बनेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया