logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • सर्वोच्चको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण मिसिल भने सुरक्षित

    763Shares
    सर्वोच्चको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण मिसिल भने सुरक्षित

    काठमाडौं,  सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा बुधबार बिहान आगलागी भए पनि त्यहाँ राखिएका महत्वपूर्ण मुद्दाका मिसिल तथा फाइलहरू सुरक्षित रहेको पाइएको छ।

    आगलागीबाट तीनवटा कम्प्युटर, टेबल, कुर्सी र केही कागजात जलेका छन्। तर दराजमा राखिएका अदालतको अवहेलनासम्बन्धी कारबाहीका मिसिल तथा सरकार र सरकारी निकायविरुद्ध परेका मुद्दासँग सम्बन्धित फाइलमा क्षति नपुगेको स्थलगत अध्ययनबाट देखिएको छ।

    आगलागीसम्बन्धी तयार पारिएको प्रतिवेदन अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलसमक्ष पेस गरिएको छ। प्रतिवेदनमा प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको उल्लेख गरिएको छ।

    मुद्दा फाँटका कर्मचारी राजकुमार भट्टका अनुसार बन्द कोठामा रहेको मल्टिप्लगमा विद्युत् सर्ट भएपछि आगलागी भएको हो। झ्याल–ढोका बन्द रहेकाले कोठाभित्र पर्याप्त हावा प्रवेश गर्न नपाउँदा आगो ठूलो रूपमा फैलिन नपाएको उनले बताएका छन्।

    आगलागीको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको कर्मचारीहरूको भनाइ छ।

    नयाँ भवनमा आगलागीको घटना भने यो पहिलो होइन। यसअघि भदौ १७ गते पनि भवनको अन्डरग्राउन्डमा आगलागी हुँदा अभिलेख शाखाका केही मिसिल जलेका थिए। उक्त घटनाको छानबिन प्रतिवेदन भने अझै आउन बाँकी छ।

    यसैबीच, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट सर्वोच्च अदालतको सिंगो संरचना नै ध्वस्त भएको थियो। त्यसपछि नयाँ भवनमा समेत आगलागीका घटना दोहोरिन थालेपछि अदालतको अभिलेख र भौतिक संरचनाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

    पछिल्लो घटनामा भने महत्वपूर्ण मुद्दाका मिसिल सुरक्षित रहेकाले तत्काल कानुनी अभिलेखमा ठूलो क्षति नपुगेको अदालत स्रोतले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट