logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रसङ्घले दिने भयो ४ करोड ९६ लाख डलर सहयोग

    709Shares
    भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रसङ्घले दिने भयो ४ करोड ९६ लाख डलर सहयोग

    काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।

    बाढीपछि विस्थापित तथा जोखिममा रहेका ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउने उद्देश्यले राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदार निकायहरूले उक्त सहयोग परिचालन गर्ने भएका हुन् ।

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको चारमहिने हिउँदपूर्व कार्ययोजनालाई सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्नेछ ।

    विशेषगरी उच्च हिमाली क्षेत्रका प्रभावित बस्तीमा हिउँद सुरु हुनुअघि आवश्यक सहायता पुर्‍याउने तथा चिसो र सरुवा रोगको जोखिम न्यूनीकरण गर्ने कामलाई प्राथमिकता दिइनेछ ।

    बाढीबाट विस्थापित परिवारलाई अस्थायी आवास सामग्री वितरण, स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रत्यक्ष नगद सहायता तथा विद्युत् सेवा नपुगेका परिवारलाई सौर्य उपकरण उपलब्ध गराउने योजना छ ।

    त्यस्तै, क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धीकरण प्रणाली जडान र सरसफाइ सामग्री वितरण गरिनेछ । पानीजन्य रोगको जोखिम कम गर्न घुम्ती स्वास्थ्य शिविरमार्फत उपचार तथा पोषण सहयोग उपलब्ध गराउने तयारी पनि छ ।

    बाढीका क्रममा परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण र परिवारसँग पुनर्मिलनका लागि संरक्षण समूह परिचालन गरिनेछ । आकस्मिक खाद्य सहायता तथा बाँचेका पशुधनको व्यवस्थापनमार्फत प्रभावित ग्रामीण परिवारको जीविकोपार्जन जोगाउने कार्यक्रम पनि योजनामा समेटिएको छ ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका बस्तीमा ठूलो क्षति पुगेको छ । बाढीले सडक तथा यातायात संरचना, विद्युत् प्रणाली, खानेपानी र सरसफाइका संरचनामा क्षति पुर्‍याउँदा दुर्गम क्षेत्रका नागरिक आधारभूत सेवाबाट समेत प्रभावित भएका छन् ।

    नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले बाढी र पहिरोका कारण प्रभावित परिवारले छोटो समयमै परिवारजन, घर र जीविकोपार्जनका आधार गुमाएको बताएकी छन् ।

    उनले सरकारकै नेतृत्वमा हिउँद सुरु हुनुअघि सबैभन्दा दुर्गम बस्तीमा ओत, उपचार, स्वच्छ पानी र नगद सहयोग पुर्‍याउनु राष्ट्रसङ्घीय सहयोगको मुख्य प्राथमिकता रहेको बताएकी छन् ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट