logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न राति ३ बजे ब्लास्टिङ, पानी भरिएपछि उद्धारमा चुनौती

    784Shares
    त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न राति ३ बजे ब्लास्टिङ, पानी भरिएपछि उद्धारमा चुनौती

    काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् आयोजना–३ ‘ए’ को सुरुङको मुख खोल्न राति ब्लास्टिङ गरिएको छ। सुरुङ प्रवेशद्वारमा जमेको संरचना हटाएर भित्र जाने बाटो खोल्ने उद्देश्यले सोमबार बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको हो।

    सुरुङको मुखमा रहेको करिब ४० सेन्टिमिटर बाक्लो ढलान फोर्न ब्लास्टिङ गर्नुपरेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।

    तर ब्लास्टिङ गरेर सुरुङको प्रवेशद्वार खोल्ने प्रयास गरिए पनि भित्रको अवस्था अझै सहज नभएको उनले बताएका छन्। सुरुङको ठूलो भाग पानीले भरिएकाले तत्काल भित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

    ‘राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो,’ न्यौपानेले भनेका छन्।

    बाढीपछि सुरुङको मुख थुनिएर भित्र कामदारहरू फसेको आशंकामा उद्धार टोलीले सुरुङ खोल्ने प्रयास गरिरहेको छ। प्रवेशद्वारमा रहेको कंक्रिटको संरचना हटाउन ब्लास्टिङ गरिए पनि पानीको उच्च मात्रा उद्धारका लागि अर्को ठूलो चुनौती बनेको छ।

    न्यौपानेका अनुसार सुरुङको मुख खोल्ने काम भने रोकिएको छैन। प्रवेशद्वार खुलाउँदै सुरुङभित्रको पानी र भग्नावशेष हटाउने तथा सम्भावित रूपमा फसेका कामदारसम्म पुग्ने प्रयास जारी राखिएको छ।

    भोटेकोशीको बाढीले त्रिशूली–३ ‘ए’ सहित नदी किनारमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि केही कामदार सम्पर्कविहीन भएपछि उद्धार टोलीले सुरुङभित्र जीवित व्यक्ति फसेका हुनसक्ने आशंकामा खोजी गरिरहेको छ।

    तर सुरुङभित्र पानी भरिएको र प्रवेशद्वारसमेत कंक्रिट तथा भग्नावशेषले थुनिएका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण बनेको छ। अहिलेको मुख्य चुनौती थुनिएको सुरुङको मुख पूर्ण रूपमा खोल्नु र भित्र भरिएको पानी तथा भग्नावशेष पार गर्दै सम्भावित रूपमा फसेका कामदारसम्म पुग्नु बनेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट