गोरखा। गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण पछिल्लो दुई महिनामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रोगको सङ्क्रमण विभिन्न स्थानका व्यावसायिक तथा साना फार्ममा फैलिएको छ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६ स्थित मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्ममा रहेका ८० वटा तथा सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन्। त्यस्तै मान्द्रेढुङ्गाका किसान धनकुमार गुरुङको फार्ममा दुई साताको अवधिमा ६० वटा बङ्गुर मरेका छन्। यसबाहेक अन्य किसानका फार्ममा रहेका सुँगुर र बङ्गुर पनि सोही रोगका कारण मरेको केन्द्रले जनाएको छ।
हालसम्मको विवरणअनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ मा रहेका फार्ममा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ। कोइरालाका अनुसार जिल्लामा यो रोग पहिलो पटक करिब दुई महिनाअघि पहिचान गरिएको हो।
उनले अफ्रिकन स्वाइन फिभरको हालसम्म कुनै प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले सङ्क्रमित सुँगुर र बङ्गुरको मृत्यु हुने सम्भावना अत्यधिक रहने बताए। उनका अनुसार सङ्क्रमित स्थानमा पुगेका मानिसको सम्पर्क, दाना, उपकरण वा औषधिको माध्यमबाट पनि रोग फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ।
‘यस रोगको उपचार वा खोप नभएकाले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो,’ कोइरालाले भने। उनका अनुसार केही फार्म दर्ता भए पनि धेरै फार्म दर्ताविहीन रहेकाले वास्तविक क्षतिको विवरण अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
उनले किसानलाई सङ्क्रमित खोर, पशु तथा तिनको संसर्गबाट टाढा रहन, जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा शङ्कास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।
किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमित सुँगुर र बङ्गुरमा सुरुमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा देखिने तथा करिब एक साताभित्र मृत्यु हुने लक्षण देखिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया