logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • गृहमन्त्री गुरुङले पर्साका सीमावर्ती क्षेत्रको आकस्मिक गरे अनुगमन

    760Shares
    गृहमन्त्री गुरुङले पर्साका सीमावर्ती क्षेत्रको आकस्मिक गरे अनुगमन

    वीरगञ्ज।गृहमन्त्री सुधन गुरुङले शनिबार पूर्वसूचना नदिई पर्सा जिल्लाका सीमावर्ती क्षेत्रको आकस्मिक अनुगमन गर्नुभएको छ। उहाँले मुलुकको प्रमुख प्रवेशद्वार मानिने वीरगञ्ज भन्सार नाका, अलौं, खल्वाटोला, सिर्सिया पनटोका लगायतका सीमाक्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीयसँग अन्तरक्रिया गर्नुभएको हो।

    भारतीय सीमासँग जोडिएका नाकाबाट सुरक्षाकर्मीको मिलेमतोमा बिहान र रातिको समयमा अवैध व्यापार तथा तस्करी हुने गरेको गुनासो विभिन्न माध्यमबाट आएपछि गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायलाई जानकारी नदिई आफ्नो परिचयसमेत नखुल्ने गरी सीमाक्षेत्रको वस्तुस्थिति बुझ्न अनुगमन गर्नुभएको बताइएको छ।

    अनुगमनका क्रममा स्थानीय तथा प्रत्यक्षदर्शीले सीमावर्ती क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराको प्रभावकारी अनुगमन नहुँदा तस्करी तथा अवैध कारोबार नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको बताएका थिए।

    साथै, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच समन्वय र सहकार्यको अभावका कारण सुरक्षा व्यवस्थापन तथा तस्करी नियन्त्रणमा समस्या देखिएको उनीहरूले गृहमन्त्रीलाई जानकारी गराएको सुरक्षा स्रोतले जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गृहमन्त्री गुरुङले पूर्वसूचना बिना सीमावर्ती नाकाको निरीक्षण तथा अनुगमन गरी स्थानीयसँग छलफल गर्नुभएको पुष्टि गर्नुभयो।

    यता, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले उक्त अनुगमनबारे आफूहरूलाई पूर्वजानकारी नभएको बताएका छन्।

    यद्यपि, सोही दिन साँझ सिमरा विमानस्थलमा गृहमन्त्री गुरुङसँग भेटवार्ता भएको सुरक्षा स्रोतले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट