काठमाडौं । फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । सो टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे अहिले विभिन्न निकायका तथ्यांक फरक–फरक छन् । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ । त्यस्तै, जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ ।
भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानलगायत क्षेत्रका विभिन्न देशहरूले सुनामी चेतावनी जारी गरेका छन् । प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दु नजिकका प्रशान्त क्षेत्रका केही भागमा सुनामीको जोखिम रहेको जनाएको छ । तर उपलब्ध सबै तथ्यांकका आधारमा हवाई टापुका लागि भने सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ । गुआम र मारियाना टापुहरूका लागि भने सुनामीसम्बन्धी परामर्श जारी गरिएको छ । ती क्षेत्रमा थप तथ्यांकको प्रतीक्षा गरिरहेको जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया