logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • कांग्रेसभित्र एकताको चर्चा, तर पूर्णबहादुर खड्काको स्टाटसले उठायो नयाँ प्रश्न

    916Shares
    कांग्रेसभित्र एकताको चर्चा, तर पूर्णबहादुर खड्काको स्टाटसले उठायो नयाँ प्रश्न

         काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी एकता र १५औँ महाधिवेशनको तयारीबारे विभिन्न चर्चा चलिरहेका बेला कार्यवाहक सभापति रहिसकेका पूर्णबहादुर खड्काले सार्वजनिक रूपमा राखेको धारणा अहिले पार्टीभित्र नयाँ बहसको विषय बनेको छ।

    आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले आफू “यो स्टाटस लेख्न बाध्य भएको” उल्लेख गर्दै पछिल्ला दिनहरूमा पार्टीभित्र फैलाइएका विभिन्न हल्लाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीका सबै तहका पदाधिकारी, नेता र क्रियाशील सदस्यहरूलाई भ्रमपूर्ण प्रचारबाट प्रभावित नहुन आग्रह गरेका छन्।

    खड्काले आफ्नो स्टाटसमा सभापति गगन थापासँग पछिल्लो ४२ दिनदेखि कुनै प्रकारको भेटघाट वा संवाद नभएको दाबी गरेका छन्। यसअघि पार्टी एकताका लागि आफूले इमान्दार प्रयास गरे पनि कुनै ठोस प्रगति नभएको उनको भनाइ छ।

    उनको यो अभिव्यक्ति यस्तो समयमा आएको छ, जब गगन थापा निकट नेताहरूले देउवा–खड्का पक्षसँग संवाद र सहमतिको प्रक्रिया अघि बढिरहेको दाबी गर्दै आएका थिए। तर खड्काको सार्वजनिक वक्तव्यले ती दाबीमाथि नै प्रश्न उठाएको छ। यदि शीर्ष नेताबीच लामो समयदेखि प्रत्यक्ष संवाद नै नभएको हो भने सहमति र एकताको सन्देश कसरी अघि बढिरहेको थियो भन्ने जिज्ञासा कांग्रेस वृत्तमा बढेको देखिन्छ।

    खड्काले विशेषगरी क्रियाशील सदस्यता अद्यावधिकको विषयमा फैलाइएको भ्रमप्रति असन्तुष्टि जनाएका छन्। उनले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यता लिएका कार्यकर्तालाई महाधिवेशन प्रक्रियाबाट वञ्चित गर्न नसकिने स्पष्ट पारेका छन्। साथै, नेताहरूको क्रियाशील सदस्यता स्वतः केन्द्रबाट अद्यावधिक गरिने भन्ने प्रचारलाई पनि उनले “पार्टी पंक्तिमा भ्रम पार्ने हल्ला” को संज्ञा दिएका छन्।

    पछिल्ला महिनाहरूमा कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र संगठन सञ्चालनका विषयमा विभिन्न धारबीच मतभेद देखिँदै आएको छ। खड्काको पछिल्लो अभिव्यक्तिले भने पार्टीभित्र देखाउन खोजिएको एकताको तस्वीर र वास्तविक संवादको अवस्थाबीच अझै दूरी रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    विशेषगरी गगन थापा पक्षबाट सार्वजनिक रूपमा सहमति र संवादको वातावरण बनेको सन्देश दिइरहेका बेला पूर्णबहादुर खड्काले आफू र सभापतिबीच लामो समयदेखि कुनै संवाद नै नभएको खुलासा गर्नु अर्थपूर्ण रूपमा हेरिएको छ। यसले पार्टीभित्र सहमतिभन्दा बढी ‘सहमतिको सन्देश’ निर्माण गर्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्नसमेत उठाएको छ।

    १५औँ महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्वबीचको विश्वास र संगठनात्मक एकताको वास्तविक अवस्था आगामी दिनमा अझ स्पष्ट हुने देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट