logo

२०८३ जेष्ठ ८ शुक्रबार

logo
  • २०८३ जेष्ठ ८ शुक्रबार
  • रास्वपाले निष्कासित गरेपछि स्वर्णकार आक्रोशित, भने- मेरो राजनीतिक हत्या भयो

    721Shares
    रास्वपाले निष्कासित गरेपछि स्वर्णकार आक्रोशित, भने- मेरो राजनीतिक हत्या भयो

    रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

    बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ । पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।

    पार्टीको निर्णयपछि स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले जेठ ९ गते हुन लागेको जिल्ला विस्तारित बैठक र अधिवेशनअघि आफूलाई निष्कासन गरिएको उल्लेख गर्दै यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।

    स्वर्णकारले अधिवेशनमा पुनः जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावनाका कारण दबाबमा निर्णय गरिएको दाबी गरेका छन् । उनले रास्वपाबाट अलग भए पनि महागढीमाई र बाराका जनताको सेवामा स्वतन्त्र रूपमा सक्रिय रहने बताएका छन् ।
    उनले आगामी स्थानीय तह निर्वाचनमार्फत जनताले आफ्नो पक्षमा फैसला गर्ने दाबीसमेत गरेका छन् ।

    उनले लेखेका छन् :

    अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा !
    आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो। तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि मलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको छ।

    अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले मलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा मलाई पार्टीबाटै निष्कासन गरियो। रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन।

    रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ। मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ। मेरो फैसला आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले गर्नेछन्। न्यायको यो लडाइँमा मलाई साथ दिनुहुने सम्पूर्णमा आभार !
    जय बारा ! जय महागढीमाई!



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार